काठमाडौं । धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना हुने भएको छ । विगतमा सरकारले काठमाडौं उपत्याका तथा आसपासका क्षेत्रमा रोपाइँ महŒव आयोजन गर्ने गरेको यसपटक भने उपत्याबाहिर बर्दियाको राजापुर नगरपालिका ८ धोवीपुरमा आयोजना गरिने आयोजक कृषि विभागले जानकारी दिएको छ ।
कृषि विभागअन्तर्गतको १६आंै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । नेपालमा कुल खेतीयोग्य क्षेत्रको ४८.३ प्रतिशत जमिनमा धानखेती गरिन्छ । जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ ।
धानको क्षेत्रफल र उत्पादन अन्य बालीको तुलनामा दोब्बर छ । नेपालमा वार्षिक करिब १.५ खर्ब रुपैयाँबराबरको धान तथा यसका उपउत्पादन हुने कृषि विभागका निमित्त महानिर्देशक डा. रेवती रमण पौडेलले जानकारी दिएका छन् । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा कृषिको योगदान २७ प्रतिशत रहेकोमा धानको मात्रै करिब २० प्रतिशत छ । आर्थिक वर्ष २०७५÷७६ मा रसायनिक मलखाद तथा उन्नत बिउ बिजनको समयमै उपलब्धता, कृषि प्रविधिमा आएको समयानुकूल सुधार र अनुकूल वर्षाका कारण अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशत उत्पादन वृद्धि भई थप ४ लाख ५८ हजार मेट्रिकटन उत्पादन वृद्धि भई ५६ लाख १० हजार मेट्रिकटन पुगेको पनि उनले जानकारी दिए ।
धान बाली लगाएको क्षेत्रफलमा समेत अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले वृद्धि भई १४ लाख ९१ हजार हेक्टर कायम रहेको विभागले जनाएको छ । धानको उत्पादन बढे पनि नेपालमा चामलमा आत्मनिर्भर हुन सकेको छैन । ०७५÷७६ मा नेपालमा करिब ४० लाख मेट्रिकटन चामल आवश्यक पर्नेमा करिब ३४ लाख मेट्रिकटन आपूर्ति भई ६ लाख मेट्रिकटन चामल अपुग हुने देखिएको छ ।
केही दशकअघि धान निर्यातको इतिहास बोकेको मुलुकमा हाल हरेक वर्ष उत्पादन वृद्धि भए पनि आवश्यक चामलको आपूर्तिका लागि विदेशबाट हुने आयातमा निर्भर रहनु पर्दा वार्षिक करिब २५ अर्बभन्दा बढी विदेशिने गरेको छ । नेपालमा समुद्री सतहबाट ६० मिटरदेखि ३ हजार ५० मिटरसम्म धानखेती गरिन्छ । नेपालमा तराई, मध्य पहाड र उच्च पहाडमा वर्षे सिजनका लागि ११६ र चैते सिजनका लागि ७ गरी जम्मा १२३ अर्थात खुला सेचित ७६ र हाइब्रिड धानका जात सिफारिश भएका छन् । करिब ३० प्रतिशत सुख्खाग्रस्त र १२ प्रतिशत डुबानग्रस्त धानका जात विकास भएका छन् । जातीय विकासका लागि नेपालमा संकलीत स्थानीय तथा जंगली धानका जात राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रमा २ हजार ४ सय, अन्तराष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठान फिलिपिन्समा ३ हजार ४ सय ५०, जापानमा १ हजार २ सय ३८, भारतमा ५६०, दक्षिण कोरियामा ४ सय २४, भुटानमा १ सय ५०, अमेरिकामा १ सय २१, रसियामा ४० र अफ्रिकामा ६ गरी जम्मा ८ हजार ३ सय ८९ जर्मप्लाज्म संरक्षित गरिएको विभागले जनाएको छ ।
संसारमा करिब १६ करोड ७० लाख हेक्टरमा धानखेती भई ७६ करोड ९६ लाख मेट्रिकटन उत्पादन हुने गरेको छ । यसमध्ये ९० प्रतिशत उत्पादन तथा खपत एसियाली मुलुकमै रहेको विभागको तथ्यांक छ । विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन छ । त्यसपछि भारत, इण्डोनेसिया, बंगलादेश, भियतनाम रहेका छन् ।
वर्षात् नहुँदा रोपाइँ प्रभावित
यसवर्ष वर्षात् नहुँदा रोपाइँ प्रभावित भएको छ । गत वर्षको तुलनामा ६ प्रतिशत कम रोपाइँ भएको हो । कृषि विभागका अनुसार गत वर्षको असार ९ सम्ममा १५ प्रतिशत धान रोपाइँ भएको थियो । मौसम ढिला सुरु भएकाले रोपाइँ कम भएको विभागको भनाइ छ ।
विभागका अनुसार उच्च पहाड र मध्य पहाडको तुलनामा तराईमा वर्षात् कम भएको छ । धानखेती हुने अधिकांश भू–भाग तराईमा भएकाले समयमा धान रोपाइँ नहुँदा उत्पादन प्रभावित हुनसक्ने विज्ञले बताएका छन् । दक्षिण एसियाली मौसमविद्ले यस वर्ष तराईमा सामान्यभन्दा कम पानी पर्ने प्रक्षेपण गरेका छन् ।
तथापि गत वर्षभन्दा कम रोपाइँ भए पनि चिन्ता गरिहाल्नुपर्ने अवस्था भने नभएको विभागका अधिकारी बताउँछन् । धान उत्पादन बढाउन कृषि अनुसन्धान परिषद् (नार्क) ले विभिन्न जातका धान सिफारिश गर्दै आएको छ । तराईका किसानले पुरानो जात राधा १२, राधा १३, राधा १४ जातका धान लगाउने गरेका छन् भने पश्चिम क्षेत्रमा राधा ४ को प्रयोग बढी हुने गरेको छ ।
पहाडमा लेकाली धान १, ३ , तराईमा सुक्खा र डुवानमा सहने बहुुगुणी धान १, २ लगाउने गरिएको छ । तथापि पछिल्लो समय अधिकांशले आयातित हाइब्रिड धान नै रोप्न थालेको बताइन्छ । तराईदेखि पहाडी क्षेत्रका कुना कुनासम्म पनि हाइब्रिड धानले स्थानीय धानका जातलाई विस्थापित गर्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । यस्तो अवस्थालाई निरुत्साहित गर्न नेपालले पनि हाइब्रिड धानको जात विकास गर्नुपर्ने धानविज्ञ भोलामान सिंह बस्नेत बताउँछन् ।



















