एक सातापछि सर्यो सानो मन

काठमाडौं  । चलचित्र ‘सानो मन’ असार २७ गतेबाट प्रदर्शन हुने भएको छ । यसअघि असार २० मा प्रदर्शन हुने भनिएको यो चलचित्र प्राविधिक कारण देखाउँदै एक सातापछि सरेको हो ।

चलचित्रलाई अझ राम्रो बनाएर दर्शकमाझ ल्याउन एक साता पछि रिलिजका लागि सारिएको निर्माता राजेन्द्र मानन्धरले बताएका छन् ,‘प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकाले रिलिज मिति सारिएको हो’, निर्माता मानन्धरले भने, ‘हतारमा नराम्रो चलचित्र रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो ल्याउन लागेका हौं । यसलाई दर्शकलाई बुझिदिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’ 

चलचित्र सानो मनमा आयुष्मान देसराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायत कलाकारको मुख्य भूमिका छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र हो । 

सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन यो चलचित्रकोे भिएफएक्स नगेश कँडेलले गरेका छन् । समीर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको सानो मनलाई संयुक्त ब्यानरमा निर्माण गरेको हो । 

चलचित्रको शीर्ष गीत सानो मन…तीन दिनअघि हाई टेक इन्टरट्रेनमेन्ट च्यानलबाट रिलिज गरिएको छ । गीतलाई दर्शकले मन पराएका छन् । गीतमा अभिनेता आयुषमान देसराज र अभिनेत्री शिल्पाको अभिनय छ । 

काठमाडौं, भैरहवा, बैंककलगायत ठाउँमा छायांकन भएको यस चलचित्रका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।