‘कांग्रेस अलोकतान्त्रिक’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्रीभन्दा पहिले आफूले बोल्न पाउनुपर्छ भनेर विपक्षी दल नेपाली कांग्रेसले लोकतान्त्रिक प्राणली विपरीत बालहठ देखाएको टिप्पणी गरेका छन् । मंगलबार संसद्मा कांग्रेसले प्रधानमन्त्रीभन्दा अगाडि बोल्न समय माग गरेकोप्रति लक्षित गर्दै उनले त्यसलाई अलोकतान्त्रिक र बालहठ भनेका हुन् । 

‘लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बेला संसद्लाई विभिन्न विषयमा सरकारको दृष्टिकोण जानकारी गराउने चलन हुन्छ,’ बेल घेराउ गरेर संसद्मा विपक्षले बोल्न नदिएपछि प्रधानमन्त्री ओलीले मंगलबार आकस्मिक पत्रकार सम्मेलन गरेर भने, ‘प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने त्यस्तो बालहठ लोकतन्त्रमा कहीँ पनि हुँदैन ।’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले ११ बजे सम्बोधन गर्ने तय भएकोका कांग्रेसले आफूले बोल्न पाउनु पर्छ भनेर अड्डी लियो । उनले भने, ‘अड्डीमात्रै लिएन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर संसदको कामकारवाहीलाई अवरोध ग¥यो । विषय केही पनि थिएन । कुनै विषयमा मतभेद पनि होइन । तर, लोकतान्त्रिक अभ्यासमा बोल्न पर्दा पहिले प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलको नेताले, त्यसपछि मर्यादा क्रमका व्यक्तिले बोल्ने कुरा विश्वव्यापी प्रचलन हो । त्यो जहाँ पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले संसद्मा बोल्न नपाएकाले त्यहाँ भन्नु पर्ने कुरा भन्न आफूले पत्रकार सम्मेलन नगरेको जिकिर गरे । उनले यसो भने पनि गुठी विधेयकको औचित्य र हालै आफूले गरेको साताव्यापी युरोप भ्रमणका उपलब्धिको बयान गरे । उनले गुठी संस्थान स्थापनादेखि हालसम्म कानुन सशोधनमा भएका प्रयासहरूबारे पनि बताए । गुठी व्यवस्थामा सुधार आवश्यक रहेकोले विधेयक ल्याउनु परेको उनको भनाइ थियो । 

मंगलबार संसद्मा असंसदीय र अमर्यादित क्रियाकलाप भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसले संकेत गरेका पक्षका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए । लोकतन्त्रका लागि लामै संघर्ष गरेका साथी शेरबहादुर देउवा प्रधानमन्त्रीभन्दा पहिला मैले नै बोल्न पाउनुपर्छ भन्ने अडान लिएर बेल घेर्न आउँदा आफू आश्चर्यचकित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले संसद्मा बोल्न रोकेर कांग्रेसले अमर्यादित चरित्र देखाएको आरोप लगाए । ‘संसद्मा आज कांग्रेसले अमर्यादित क्रियाकलाप देखाएको छ । यसले संकेत गर्न खोजेको विषय गम्भीर हो’ उनले भने, ‘लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी भएको छ । यसमा घोर दक्षिणपन्थीदेखि अति वामपन्थीहरूसम्म एकजुट भएका छन् ।’

प्रधानमन्त्रीले लोकतान्त्रिक शक्तिले आफूबाहेक अरू पनि सत्तामा आए भने स्वीकार्नुपर्ने बताए । उनले ठूलो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको पनि बताए । जनपक्षीय शक्तिहरूलाई देखिनसहने कारणले १७ साल आएको प्रधानमन्त्रीले स्मरण गराए ।

प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता र राष्ट्रिय हितप्रति सरकार अत्यन्तै सजग रहेको जिकरि गरे । ‘वर्तमान सरकार अरूले ल्याइदिएको लोकतन्त्र स्वीकारेर आएको होइन । लोकतन्त्रका लागि अग्रभागमा संघर्ष गरेर आएको हो’ उनले भने, ‘अहिले जुन पार्टी सरकारमा छ । यो अचानक नारा लिएर सरकारमा पुगेको होइन ।’

सरकार शान्ति, स्थायित्व र समृद्धिका लागि क्रियाशील रहेको बताउँदै ओलीले जोसुकै आत्तालिए पनि सरकारको समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे । उनले आन्दोलनको हरियो स्याउलाभित्र हरेउ (सर्प) देखा परेकाले मन्त्रीले विधेयक फिर्ता लिएको र विधेयक फिर्ताप्रति आफ्नो दृढ समर्थन रहेको बताए । ‘लोकतान्त्रिकविरोधी शक्तिले लोकतन्त्रको जरा काट्न कैंची चलाउन थालेको देखेर विधेयक फिर्ता लिइएको हो,’ उनले भने, ‘यसको म दृढ समर्थन गर्दछु ।’

प्रधानमन्त्री ओलीले गुठी संस्थानलाई पुनर्गठन र व्यवस्थित गर्न खोज्दा उल्टो भ्रमपूर्ण कुरा प्रचारमा ल्याएर एक साता बाहिर हुँदा देशभित्र तनाव बढाउने काम भएको आरोप लगाए । ‘अहिले ल्याउन खोजेको विधेयक गुठी संरक्षण गर्नका लागि हो । तिनीहरू हिनामिना नभई सञ्चालन हुन् भन्नका लागि हो । तर, यसविरुद्ध आन्दोलनमा कस्ताकस्ता मान्छे छन् भन्ने कुरा म सम्झिरहेको छु,’ उनले भने, ‘यहाँ त एउटा हरियो स्याउलोभित्र हजारवटा हरेउ देखा परे । यिनीहरू लोकतन्त्रको जरा काट्न हजारवटा कैंची लिएर बसेका छन् ।’ 

प्रधामन्त्री ओलीले गुठी विधेयक फिर्ता भएको बारे आफूले सञ्चारमाध्यमबाट थाहा पाएको बताए । गुठी विधेयकबारे आइतबार उनले उपत्यकाका जनप्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए । छलफलमा उनले मन्त्रिपरिषद्मा छलफल गरेर विधेयकका बारेमा निर्णय लिने बताएका थिए ।

‘तिमी’ भनेकोमा आपत्ति 

प्रधानमन्त्री ओलीले स्थापित सञ्चारमाध्यमले समानका नामम सबैलाई तिमी भनेको भन्दै आपत्ति जनाए । उनले सञ्चारमाध्यमले समाजको मूल्यमान्यता, मर्यादा र शिष्टता उल्लंघन गरेको आरोप लगाए । उनले भने, ‘हजुरबालाई पनि, हजुर आमालाई पनि, बाबुलाई पनि, आमालाई पनि तिमी, हाम्रो लेलिभिजन तपाईं भन्न जान्दैन, तपाईं भन्ने शब्द नै हराइसक्यो ।’ 

उनले सञ्चारमाध्यम लोकतन्त्रको एउटा पिलर, चौथो अंग हो भन्दै समाज र भाषाको मर्यादा राख्न सुझाब दिए । उनले आफ्नो यस्तो सुझाव कतिलाई मन नपरेको पनि बताए । ‘सञ्चार जगत लोकतन्त्रको खम्बा हो तर आज हामी सञ्चारको क्षेत्रमा संक्रमणकालीन अवस्थामा छौं, हाम्रो सामाजिक मूल्यमान्यता हराइसक्यो’ उनले भने, ‘हरेक भाषाको आआफ्नो मर्म हुन्छ । तर, हाम्रा सञ्चार माध्यममा मर्म हराउँदै आएको छ ।’

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली बुद्धिजीवीप्रति पनि खनिए । ‘मैले केही आफूलाई विद्वान् भन्नेले बोलेको सुनेको छु । बोलेको सुन्दा शरम लाग्छ । संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ तर त्यहाँ अमर्यादा, अभद्रता, सांस्कृतिक मूल्यको अभाव देखिन्छ’ उनले भने, ‘मेरो आग्रह यत्ति मात्रै हो, समाजमा म मात्रै बाँच्नुपर्ने होइन । मैले मात्रै भविष्य र परिणाम व्यहोर्नुपर्ने होइन । हामी सबै परिवारमा समाजमा बाँच्नुपर्छ । आफ्ना कुरा भनौं । र, मर्यादित बनौं ।’ 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सामाजिक मर्यादा कायम राख्न पनि सुझाव दिए । उनले सामाजिक सञ्जाललाई गुरु थापेर कस्तो समाज बनाइँदै छ भनेर टिप्पणीसमेत गरे ।