वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गरिने बताएका छन् । मंगलबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीले अर्को सातादेखि आप्रवासी हटाउन थाल्ने बताएका हुन् ।
‘जतिसक्दो चाँडो उनीहरूलाई हटाइनेछ,’ ट्रम्पले लेखेका छन् । उनले गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइको पनि तारिफ गरेका छन् । एक महिनाअघि भएको वार्तामा मेक्सिकोले मध्यअमेरिका हुँदै अमेरिका छिर्न खोज्ने गैरकानुनी आप्रवासीलाई रोक्ने सहमति गरेको थियो ।
आप्रवासी रोक्न विशेष सुरक्षाकर्मी सीमामा पठाउने मेक्सिकोको प्रतिबद्धतापछि ट्रम्पले मेक्सिकन सामानमाथि लगाउने भनेको कर तत्कालका लागि स्थगित गरेका छन् । अमेरिकामा अहिले झण्डै १ करोड बढी गैरकानुनी आप्रवासी छन् । तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन् ।
हालै अमेरिकामा अवैध प्रवेश गर्ने प्रयास गरेका करिब एकलाख ३० हजार आप्रवासी पक्राउ गरिएको तथ्यांक सार्वजनिक भएको थियो । ग्वाटेमाला र मेक्सिकोको सीमा क्षेत्रमा पनि हालै ठूलो संख्यामा मध्य अमेरिकी आप्रवासी पक्राउ परेका थिए । ट्रम्पले राष्ट्रपतीय चुनाव नै आप्रवासीमाथि कडा नीति लिने घोषणा गरेर लडेका थिए । उनी सोही नीतिका कारण विजयी भएकोसमेत मानिन्छ । कट्टर राष्ट्रवादीको छवि बनाएका ट्रम्पले मेक्सिकोसँगको सीमा मा पर्खाल लगाउनेसमेत बताइरहेका छन् ।
सीमामा पर्खाल लगाउन आवश्यक बजेट व्यवस्थापनका विषयमा उनले विपक्षीहरूको कडा आपत्ति पनि सामाना गर्नुपरेको छ । यही विषयलाई लिएर ट्रम्पले अमेरिकामा संकटकालसमेत लगाइसकेका छन् ।



















