गुण–दोषको मान्छे

मान्छेले आफ्नो प्रगति र उन्नतिका लागि निरन्तर प्रयास गर्नुपर्छ । विद्यार्थीको उद्देश्य परीक्षामा उत्कृष्टता हासिल गर्ने हुनुपर्छ भने कर्मचारीले पदोन्नतिको अपेक्षा गर्नुपर्छ । महाकवि देवकोटाले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्नुभएको छ । भनिन्छ, ‘महŒवाकांक्षा नभएको मानिस पखेटा बिनाको चरा जस्तै हुन्छ ।’ आफ्नो उन्नतिका लागि प्रयास गरिरहँदा अर्काको कुभलो चिताउनु हुँदैन । अधिकांश मानिस आफ्नो उन्नतिको भन्दा पनि अर्काको अवन्नति हेर्न चाउँछन्, यो नै मान्छेको ठूलो कमजोरी हो । हामीले ‘सर्वजन हिताय सर्वजन सुखाय’ को नीति अवलम्बन गर्नुपर्छ । आफू खुसी भएझैँ अरू पनि आनन्दित होऊन् भन्ने ध्येय राख्नुपर्छ । विपत्तिमा आफू बाँच्ने र अरूलाई पनि बचाउने प्रयास गर्नुपर्छ । यथार्थमा अरू सबैले मृत्युवरण गरेर आफू मात्रै बाँचियो भने ती मरेका प्रेतात्मको डरले नै स्वयं आफू पनि मरिन्छ । यसर्थ सबैले आफ्नो उन्नति र अरूको पनि उन्नतिको कामना गर्नुपर्छ । 

भनिन्छ, जिब्रो सुध्रियो भने जीवन सुध्रिन बेर लाग्दैन । यसर्थ हरेक मानिस बोली वचनले पनि शिखरमा पुग्न सक्षम हुन्छ । परपीडामा रमाउनु एउटा रोगै हो । यसको पनि उपचार गर्नैपर्छ । धेरै मानिसहरू रिसाउने रोगबाट पीडित छन् । रिस उठ्ने भनेकै मनभित्र कुण्ठाभावले हो । ‘रिस खा आफू, बुद्धि खा अरू’ भनेकै रिसले मान्छे स्वयंलाई जलाउँछ । फलाम तातेपछि त्यसकोे स्वरूप बिग्रने सम्भावना हुन्छ । तातेको फलाम अर्को नतातेको फलामसँग बज्रिँदा तातेको फलाम नै बिग्रिने हो । यस्तो सत्य मान्छेले बुझेमा रिसाउने बानी काबुमा राख्न सक्छ । व्यवस्थापनमा ‘एक्स’ र ‘वाई’ को सिद्धान्त भनिन्छ । अर्थात् मान्छेलाई डर देखाएर काम लिने एक्स थ्योरी र मान्छेलाई आशा देखाएर काम लिने वाई थ्योरी । यथार्थमा मानिसलाई मायाले काम लगाउँदा छिटो, छरितो र गुणस्तरीय काम भएको पाइएको छ । मान्छेमा लघुताभाषले पनि रिस पैदा हुन्छ । यसमा मानिसको अहंकार उजागर हुँदा रिसको रूपमा प्रकट हुने हो । प्रत्येक मानिस आफू भलादमीको पहिचान बनाउन प्रतिस्पर्धामा उत्रिनु पर्छ । रिस दबाउन सक्नु सबै प्रकारको कमजोरी दबाउन सक्नु हो । प्रत्येक मान्छेले म आजउप्रान्त सम्भव भएसम्म रिसाउने छैन, कथंकदाचित झुक्किएर रिसाइहाले पनि प्रकट गर्ने छैन भनी संकल्प लिनुपर्छ । 

अधिकांश मान्छेमा शंका गर्ने बानी हुन्छ । अर्काले के काम गरे भनेर चियोचर्चा गर्न मनलाग्छ । अड्डामा कुरा लगाउने र कुरा सुन्नेको संख्या अधिक हुन्छ । अर्काको कुरा काट्ने जाँगर पनि धेरैमा हुन्छ । ‘शंकाले लंका खान्छ’ भनेझैँ मानिसको नकारात्मक सोच हाबी भएपछि शंकालु मन बढेर जान्छ । भनिन्छ, जो सधँै शंका गरिरहन्छ, उसलाई यस लोकमा सुख, शान्ति र ऐश्वर्य प्राप्त हुन सक्तैन । सदाचारितामा अडेकोले अरूलाई भ्रष्टाचारी देख्दैन । पारदर्शी मन भएकाले अर्कालाई अपराधी ठहर गर्न सक्तैन । अर्काको भलो चिताउनेले अर्काले पनि भलो नै चिताएको ठान्छ । यसबाट मानिसप्रति आकर्षण बढ्छ । द्वेषलाई आदरमा रूपान्तरित गरिदिन्छ । सत्य उजागर हुनपुग्छ । जसले जे सोच्यो, आँखा अगाडि त्यही पैदा हुन्छ । भूतको कल्पना ग¥यो, कल्पनाको भूत देखापर्छ । असल कुराको कल्पना गर्ने, सोच्ने बानीले शंका गर्ने बानीबाट छुटकारा दिन्छ । 

अभिमान नै मानिसको पतनको कारक तŒव हो । भनिन्छ, आदर चाहनेले अर्कालाई आदर गर्नुपर्छ । कसैबाट आफ्नो इच्छा पूरा गराउनु छ भने पहिला उसको इच्छा बुझेर सोअनुसार गर्नुपर्छ । ‘दिन हिचकिचाउने र लिन इच्छुक रहने’ प्रवृत्ति घातक हुन्छ । अभिमानले मानिसलाई विनाशतिर लैजान्छ । फलले भरिएको हाँगो जसरी झुक्छ, मानिस पनि समयानुकूल शिष्ट हुनुपर्छ । बाँस निकै अग्लो भएपछि नुहुन थाल्छ । सोही रितले मानिस पनि सफलताको सिँढी चढ्दै अग्लो स्थानमा पुग्न थालेसँगै विनम्रतायुक्त हुनुपर्छ । कसैले तपाई भनोस् नभनोस् आफैँ मपार्इं हुनु हुदैन भन्ने नेपाली मान्यता छ । दुई हात जोडेर अभिवादन गरे प्रतिक्रिया पनि अभिवादनबाटैै पाइन्छ । अर्काको आगमनमा आफू उठेर स्वागत गर्ने गरेमा नै आफू आउँदा पनि अरू उठ्ने गर्दछन् । ‘आफू भलो त जगत भलो’ भनिन्छ । आफूले अर्काको कुरा काट्ने तर आफ्नो चाहिँ प्रशंसा मात्रै होस् भन्ने चाहना प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ । 

सबै मानिस सामान्य मर्यादामा रहनुपर्छ । मर्यादा अनुशासन र असल संगतबाट प्राप्त हुन्छ । विद्यार्थीको हातमा कापी किताब सुहाउँछ । छोराछोरी आमाबाबुको आज्ञाकारी भएकै जाती हो । आफूभन्दा पाको मानिसको सम्मान गर्न अग्रसर हुँदा नै कम उमेरकाबाट आफूले सम्मान पाउने हो । शिष्टता र मर्यादा कायम गर्न केही कूटनीतिक मर्यादा पनि पालना गर्नुपर्छ । मानिससँग मेचमा वा सोफामा बस्दा ढंग पु¥याएर बस्नु पर्छ । चिया वा कफी पिउँदा पनि सभ्य देखिनु पर्छ । मानिसहरूसँग कुराकानीमा रहँदा आफ्नो व्यक्तिगत मोबाईल फोनमा तल्लीन रहनु असभ्यता हो । हसमुख मानिसको गहना हो । शिष्ट, सुशील र नरम शब्दमा बोल्न सक्नु सुनमा सुगन्ध हो । अर्कालाई बिझ्ने शब्द प्रयोग गर्दा अर्कोले पनि आफूलाई पैँचो तिर्छ । यसबाट अपसमा दुरी बढ्छ । अर्काप्रति रोष र घृणाभावले दुवै पक्षलाई नोक्सानी पु¥याउँछ । ठीक यसको विपरित आफूले अर्काको भावना बुझेर बोल्दा सट्टामा आफूले अपेक्षा गरेको जवाफ पाइन्छ । यसबाट अपसमा घनिष्टता बढ्छ । एक जना असल मित्र पाउनु एक हजार जना आफन्त बराबर हो भनिन्छ । एउटा आदर्श मित्र पाउँदा जीवन नै सफल हुन्छ भनिन्छ । यी कुरामा अभ्यास गरेमा सफलता पाउन सकिन्छ । 

मानिस आफ्नो विश्वसनीयता कायम राख्न सजग हुनुपर्छ । आफ्ना कुरा अभिव्यक्ति गर्दा इमानदारी र सत्यनिष्ठा सहित प्रस्तुत हुनुपर्छ । झुटो कुराले केही समय माहोल बनाए पनि अन्तत्वगोत्वा घातक साबित हुन्छ । सत्य र तथ्यमा आधारित भएर बोल्न अध्ययन आवश्यक पर्छ । कतिपय मानिस मानिस धाक–धक्कु लगाउने तर काममा माखो नमार्ने खालका हुन्छन् । कतिपय चाहिँ छुराजस्तो मुख चलाउने तर कलम पटक्कै नचल्ने देखिन्छन् । 

मानिसले दोहोरो चरित्र देखाउँदा क्षणिक लाभ पुगे पनि वास्तवमा नोक्सानी नै व्यहोर्नु पर्छ । कुनै पनि काममा जे हुने हो सोही सत्य कुरा बोल्दा एकछिन सुन्न मानिस खासै खुसी नभए पनि यसले दीर्घकाल पर्यन्त उक्त व्यक्तिसँग असल सम्बन्ध बनाइराख्न मद्दत गर्छ । भत्रृहरिले एउटा नीमको विरुवा शिष्यहलाई रोप्न लगाए, जसको जरामा पानीको सट्टा दुध र मह हाल्न लगाए । अन्य नीमका विवाका जरामा नियमित पानी हालिन्थ्यो । सबै नीमका विरुवा हुर्किएपछि भत्रृहरिले दुध र महले सिँचित नीमको रुखको डाँठ भाँचेर शिष्यहरूलाई ब्रस गर्न भने । सबैको प्रतिक्रिया दुध र मह हाले पनि नीमको तितोपन यथावत छ भन्ने नै भयो । भत्रृहरिले सबै शिष्यलाई जसरी नीमले आफ्नो तितोपन छोडेन त्यसैगरी हामी पनि मानव कर्तव्यबाट च्यूत हुन नहुने सन्देश दिए । मानिसको विश्वसनीयता भनेकै आफ्नो निश्चित विशेषतामा सदाबहार हुने नै हो । 

मानिसले चाहेको सबकै कुरा सबैलाई पुगेको छैन । फूटपाथबाट मानिस उच्च पदमा पुगे पनि केही दिनमै सो पदप्रति सन्तुष्टी प्रकट गर्न थाल्छ । बेरोजगार मानिस रोजगारी पाउँदा खुसी हुन्छ तर, केही दिनमै व्यर्थमा जागिर खाएछु, छोड्न पाए हुन्थ्यो भन्न थाल्छ । योग्य युवक र सुन्दरी युवतीबीच विवाह हुन्छ तर कोही कोही पछुताएका हुन्छन् । आखिर मानिस केही क्षण र केही दिनमै किन उपलब्ध चिजमा सन्तुष्ट हुन सक्तैन, अहम सवाल सृजना हुन्छ । यस्को मूल कारण लोभ हो । मानिसलाई जति प्राप्ति भए पनि सन्तुष्टी मिल्दैन । 

कतै मानिस आफ्नो प्राप्तिभन्दा अर्काको बर्बादीमा खुसी हुने त होइन ¤ एक पटक दुई दाजुभाइका बीच ठूलै शत्रुता भएछ । एकले अर्कालाई सिध्याउने र आफू वैभवशाली हुने ध्येयले तपस्या गर्न हिँडेछन् । घनघोर तपस्याबाट प्रशन्न भएका भगवानले एउटासँग बर माग्न आग्रह गरेछन् र भनेछन् तिम्रा बन्धु पनि यस्तै घनघोर तपस्यामा छन् । तिमी छिटो बर माग । तिमीले जे पाउँछौ, तिम्रो बन्धुलाई त्यसको दोब्बर दिने विचार गरेको छु । यस कुरा सुनेर एउटाले आफ्नो फाइदाका लागि केही माग्नुभन्दा पनि मेरो एउटा आँखा फुटाई पाउँ भनी बर मागेछ । ताकी अर्काको दुवै आँखा फुटोस् भन्ने उनको ध्येय रहृयो । यसरी घोर तपस्या गर्दा पनि आन्तरिक शत्रुता, रिस र दुष्विचार हटाउन नसक्ने मानिसको सुख र समृद्धि सम्भव छैन । यसमा आफूलाई परिवर्तन गर्ने अभ्यासमा जुट्नै पर्छ ।