पुँजी बजारको सुधारका लागि दर्जन सुझाब

काठमाडौं । पुँजी बजारसँग सम्बन्धित सरोकारवालाले पुँजी बजारको सुधारका लागि नेपाल धितोपत्र बोर्डलाई दुई दर्जनभन्दा बढी सुझाब दिएका छन् । बोर्डको नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम निर्माणका लागि सुझाब संकलन गर्न आयोजित कार्यक्रममा उनीहरूले यस्तो सुझाब दिएका हुन् । 

उनीहरूले शेयर बजारको प्रबद्र्धनका लागि संरचनागत सुधार र सूचना प्रवाह एकरूपता हुनुपर्ने बताएका छन् । उनीहरूले सरकारी निकायको नीति नियममा एकरूपता नभएको भन्दै धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समितिलगायत निकायबीच समन्वय तथा नीतिगत स्थिरतामा जोड दिएका छन् । स्वार्थ बाझिने समूहलाई नीतिगत निर्णयबाट टाढा राख्नुपर्ने, भित्री कारोबार रोक्न सूचना प्रविधि प्रभावकारी र पर्याप्त हुनुपर्ने, विभिन्न क्षेत्रको रिपोर्टिङ सिस्टममा एकरूपता आउनुपर्ने, संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, शेयर बजारका सूचना प्रवाह विश्वसनीय र प्रभावकारी बनाउन प्रेस काउन्सिलसँग मिलेर बोर्डले कोड अफ कन्डक्ट बनाएर लागू गर्नुलगायत सुझाब दिएका छन् ।

लगानीकर्ता संघका प्रतिनिधिले बोर्ड तथा धितोपत्र बजारका सम्बन्धित निकायले अर्थ मन्त्रालयद्वारा गठित समितिले बुझाएको ५८ बुँदे सुझाब बाँकी बुँदा कार्यान्वयनमा ल्याउन, शेयर बजारमा तालिम दिनेको योग्यता निर्धारण गरी लाइसेन्सको व्यवस्था गर्न पनि उनीहरूले सुझाब दिए । सो अवसरमा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सम्बन्धित पक्षको सुझाब समेटेर बोर्डले नीति तथा कार्यक्रम ल्याउने र कार्यान्वयनमासमेत सुभार गर्ने प्रतिबद्धता जनाएका छन् ।