मलेसियामा ९ महिनामा नेपालीसहित ६० हजारभन्दा बढी अवैध आप्रवासी कामदार पक्राउ।

शाहआलम (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (JIM) ले चालु वर्षको पहिलो नौ महिनामा देशभर सञ्चालन गरेको छापामारी धरपकड अभियानका क्रममा ६० हजार ८८९ जना गैरकानुनी आप्रवासी (PATI) पक्राउ गरेको जनाएको छ।

अध्यागमन विभागका महानिर्देशक दातुक सेरि जकारिया साबानका अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म देशभर १० हजार ४१९ वटा प्रवर्तन अभियान सञ्चालन गरिएको थियो। ती अभियानका क्रममा १ लाख ३८ हजार ८९ जना व्यक्तिको जाँच गरिएको थियो।

पक्राउ परेका गैरकानुनी आप्रवासीसँगै अध्यागमन विभागले गैरकानुनी आप्रवासीलाई संरक्षण गर्ने तथा अवैध रूपमा रोजगारी दिने आशंकामा १ हजार ८१५ जना रोजगारदातालाई समेत पक्राउ गरि कारवाही गरेको छ।

मलेसियामा हुने यस्ता अध्यागमन कारबाहीमा विभिन्न देशका नागरिक पक्राउ पर्दै आएका छन्। विशेषगरी बंगलादेश, इन्डोनेसिया, पाकिस्तान, भारत र थाइल्यान्डका नागरिकको संख्या उल्लेख्य रहने गरेको बताइन्छ भने नेपाली नागरिक पनि केही संख्यामा पक्राउ पर्ने गरेका छन्।

यद्यपि, यसपटकको नौ महिनाको कारबाहीमा कुन देशका नागरिक कति पक्राउ परे भन्ने विस्तृत राष्ट्रियता–आधारित तथ्यांक अध्यागमन विभागले सार्वजनिक गरेको छैन।अध्यागमन विभागले छापा धरपकड अभियान केवल गैरकानुनी आप्रवासीमाथि केन्द्रित नभई उनीहरूलाई संरक्षण गर्ने तथा वैध कागजातबिना रोजगारी दिने रोजगारदातामाथि समेत कडाइ गरिरहेको जनाएको छ।

जकारियाले भने, “हाम्रो लक्ष्य PATI मात्र होइन, वैध कागजातबिना विदेशी नागरिकलाई निरन्तर रोजगारी दिने रोजगारदाता पनि हुन्।” अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने रोजगारदातामाथि इमिग्रेसन ऐन १९५९/६३ अन्तर्गत कारबाही गरिने विभागले जनाएको छ।

अध्यागमन विभागले आगामी दिनमा पनि सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा प्रवर्तन अभियानलाई निरन्तरता दिने जनाएको छ। विभागले विदेशी श्रमिकले आफूलाई जारी गरिएको पासका सर्त पालना गर्नुपर्ने तथा वैध कागजातबिना काम गर्ने विदेशी नागरिक र त्यस्ता व्यक्तिलाई रोजगारी दिने रोजगारदाता दुवै कानुनी कारबाहीको दायरामा आउने स्पष्ट पारेको छ।