नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने एउटा नियमित प्रक्रिया मात्र होइन। यो कांग्रेस कस्तो पार्टी बन्ने? कसका आवाज समेट्ने? र बदलिँदो नेपाली समाजसँग कसरी जोडिने? भन्ने महत्वपूर्ण प्रश्नहरूको उत्तर खोज्ने अवसर पनि हो।
आज नेपाली कांग्रेसका लाखौँ शुभेच्छुक, सदस्य र समर्थक देशको सीमाभन्दा बाहिर छन्। उनीहरू भूगोलले नेपालबाट टाढा छन्, तर विचार, योगदान र लोकतन्त्रप्रतिको प्रतिबद्धताले कांग्रेसबाट टाढा छैनन्। त्यसैले प्रवासलाई सहयोग जुटाउने ठाउँका रूपमा मात्र होइन, पार्टी निर्माणको अभिन्न हिस्साका रूपमा स्वीकार गर्ने समय आएको छ।
नेपाली कांग्रेसको विधानमा नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्वलाई थप संस्थागत गर्दै एक महिलासहित छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था अघि सारिनु यही बदलिँदो यथार्थलाई सम्बोधन गर्ने महत्वपूर्ण पहल हो। यो पदको संख्या थप्ने विषय मात्र होइन; विदेशमा बसेर कांग्रेसको विचार, संगठन र लोकतान्त्रिक अभियानसँग जोडिएका नेपालीहरूको योगदानलाई पार्टीको मूल संरचनाले स्वीकार गर्ने विषय हो।
यस महत्वपूर्ण पहलका लागि पार्टी सभापति आदरणीय गगनकुमार थापा, विधान मस्यौदा समिति संयोजक एवं महामन्त्री आदरणीय प्रदीप पौडेल, समिति सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापा मगर, अञ्जु झा तथा सदस्य सचिव प्रताप पौडेलज्यूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। विधान मस्यौदा समितिले नेपाली जनसम्पर्क समितिलाई समेट्दै प्रवासको योगदान र प्रतिनिधित्वलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण पहल गरेको छ।
तर प्रश्न यतिमै सकिँदैन। प्रतिनिधित्व कागजमा भएर मात्र पुग्दैन; त्यसको अर्थपूर्ण कार्यान्वयन पनि हुनुपर्छ। जनसम्पर्क समितिलाई अधिकार, जिम्मेवारी, संगठनात्मक स्पष्टता र निर्णय प्रक्रियामा प्रभावकारी सहभागितासहित अघि बढाउनुपर्छ। विदेशमा रहेका नेपाली कांग्रेसका साथीहरूलाई ‘विदेश’ भनेर छुट्टै राख्ने होइन, कांग्रेसको मूल संगठनकै हिस्साका रूपमा हेर्नुपर्छ।
१५औँ महाधिवेशनले यही नयाँ सोचलाई संस्थागत गर्ने अवसर पाएको छ। वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रक्रियासँगै विदेशस्थित जनसम्पर्क समितिलाई पनि कांग्रेसको संगठनात्मक जीवनसँग अझ मजबुत रूपमा जोड्नुपर्छ। पार्टीको आफ्नै कार्यतालिकाले पनि बाँकी जनसम्पर्क समितिका अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकेको छ।
अब कांग्रेसले एउटा कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ—कांग्रेसको भूगोल नेपालभित्र मात्र छैन। कांग्रेस त्यहाँ पनि छ, जहाँ नेपाली छन्; जहाँ लोकतन्त्रप्रतिको विश्वास छ; जहाँ नेपाली कांग्रेसप्रतिको विचार र प्रतिबद्धता जीवित छ।
त्यसैले १५औँ महाधिवेशन गुटको शक्ति प्रदर्शन गर्ने महाधिवेशन मात्र होइन, विचारको पुनर्निर्माण, संगठनको आधुनिकीकरण र सहभागिताको विस्तार गर्ने महाधिवेशन बन्नुपर्छ।
प्रवासको योगदानलाई सम्मान गर्दै प्रतिनिधित्वलाई अधिकारमा बदल्दै, अधिकारलाई जिम्मेवारीसँग जोड्दै अनि संसारभर छरिएका नेपालीलाई जोड्ने नयाँ, समावेशी र गतिशील कांग्रेस निर्माण गर्नुपर्छ।
जय नेपाल!
सरोज दाहाल
महामन्त्री
नेपाली जनसम्पर्क समिति, मलेसिया ।




















