क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरस्थित दाङवाङ्गी क्षेत्रमा अध्यागमन विभागले मध्यराति गरेको विशेष छापामार कारबाहीका क्रममा ५२ जना विदेशी नागरिक पक्राउ परेका छन्।
जाबातान इमिग्रेसन मलेसिया विलायाह पर्सेकुतुआन क्वालालम्पुर (JIM WPKL) ले ‘अप्स गेगर’ नाम दिइएको उक्त कारबाही शुक्रबार राति करिब १ः३० बजेबाट सुरु गरेको थियो। कारबाहीमा JIM WPKL का ७४ जना अधिकारी तथा मुख्यालयअन्तर्गतको विशेष रणनीतिक टोली (PASTAK) का १८ जना अधिकारी गरी ९२ जना अधिकारी परिचालन गरिएको थियो।
अध्यागमन विभागका अनुसार डाङ वाङ्गी क्षेत्रका विदेशी नागरिकको बढी आवतजावत हुने सातवटा मनोरञ्जन केन्द्रमा एकैपटक छापा मारिएको थियो। ती स्थानमा विदेशी नागरिकले गैरकानुनी रूपमा काम गरिरहेको तथा भ्रमण पासको दुरुपयोग गरिरहेको भन्ने गुप्त सूचना र सार्वजनिक उजुरीका आधारमा कारबाही गरिएको हो।

कारबाहीका क्रममा ती सातवटा परिसरमा रहेका १७० जना व्यक्तिको जाँच गरिएको थियो। जाँचपछि २३ पुरुष र २९ महिला गरी ५२ जना विदेशी नागरिकलाई विभिन्न अध्यागमनसम्बन्धी कसुरमा पक्राउ गरिएको विभागले जनाएको छ। कारबाहीका क्रममा सम्बन्धित परिसरका प्रतिनिधिलाई थप अनुसन्धानमा सहयोग पुर्याउन पाँचवटा ‘बोरण २९’ (साक्षीलाई बोलाउने समन) समेत जारी गरिएको थियो।
पक्राउ परेका विदेशी नागरिकमाथि वैध यात्रा कागजात नहुनु, अनुमतिभन्दा बढी समय मलेसियामा बस्नु तथा आफूलाई दिइएको पासका सर्त उल्लंघन गर्नेलगायतका कसुर गरेको आशंका गरिएको छ। उनीहरूमाथि इमिग्रेसन ऐन १९५९/६३, पासपोर्ट ऐन १९६६ तथा इमिग्रेसन नियमावली १९६३ अन्तर्गत अनुसन्धान भइरहेको छ।
पक्राउ परेका सबैलाई आवश्यक कागजात प्रक्रिया तथा थप अनुसन्धानका लागि बुकित जलिल अध्यागमन हिरासत केन्द्रमा पठाइएको छ। क्वालालम्पुर राज्यका अध्यागमन निर्देशक दातुक हम्सा बिन इन्जाउले गैरकानुनी विदेशी श्रमिकलाई संरक्षण गर्ने वा उनीहरूलाई अवैध रूपमा रोजगारी दिने रोजगारदाता तथा मनोरञ्जन केन्द्रका व्यवस्थापनविरुद्ध कुनै पनि सम्झौता नगर्ने चेतावनी दिएका छन्।
उनले गैरकानुनी आप्रवासी (PATI) लाई संरक्षण गर्ने, रोजगारी दिने वा अध्यागमनसम्बन्धी नियम उल्लंघन गर्ने पक्षविरुद्ध नियमित रूपमा कारबाहीलाई तीव्र बनाइने बताएका छन्। अध्यागमन विभागले देशको कानुन, सुरक्षा तथा अध्यागमन व्यवस्थालाई प्रभावकारी बनाउन यस्ता विशेष तथा आकस्मिक कारबाहीलाई निरन्तरता दिने जनाएको छ।




















