घेदुङको अधिवेशनमा सांगीतिक प्रस्तुति दिन गायक प्रकाश तितुङ मलेसिया आइपुगे।

क्वालालम्पुर (मलेसिया) : मलेसियामा कार्यरत तामाब्ग समुदायको माउ संस्था नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन तथा २१औँ वार्षिकोत्सवमा सांगीतिक प्रस्तुति दिन लोकप्रिय गायक प्रकाश तितुङ तामाङ मलेसिया आइपुगेका छन्।

मलेसिया आइपुगेका गायक तितुङलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाका सल्लाहकार राजु तामाङ, अध्यक्ष बिक्रम वाइबा तामाङ लगायतले मलेसियाको केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा खादा ओढाएर स्वागत गरेका थिए ।

यहीँ अक्टोबर ४, २०२६ आइतबारमा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा दिउँसो १२:०० बजेदेखि आयोजना हुने अधिवेशन तथा वार्षिकोत्सवमा गायक तितुङले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै विशेष सांगीतिक माहोल सिर्जना गर्ने कार्यक्रम तय रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा मलेसियामा रहेका तामाङ समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। घेदुङ मलेसियाले  अधिवेशन तथा वार्षिकोत्सवलाई सफल बनाउन मलेसियामा रहेका सम्पूर्ण तामाङ समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।

यसपटकको अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ। पाँचौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले मलेसियास्थित तामाङ समुदायमा अधिवेशनप्रति चासो बढेको छ। नयाँ नेतृत्वले आगामी कार्यकालमा समुदायको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै संगठन सुदृढीकरण तथा सामाजिक, सांस्कृतिक र सामुदायिक गतिविधिलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई पनि महत्वका साथ हेरिएको छ।