कोताबाहरु(मलेसिया):= मलेसियाका तोमयाम रेस्टुरेन्टमा कार्यरत विदेशी श्रमिकको कार्य अनुमति र अध्यागमन सम्बन्धी कागजातबारे प्रश्न उठेपछि मलेसियाको अध्यागमन विभागले देशभर अनुगमन तथा कारबाहीलाई थप कडा बनाउने भएको छ।
थाइल्यान्डका अधिकारीहरूले मलेसियाका तोमयाम रेस्टुरेन्टमा कार्यरत करिब १ लाख विदेशी श्रमिकसँग वैध कार्य अनुमति नरहेको दाबी गरेपछि मलेसियाको अध्यागमन विभागले यस्तो कदम चाल्न लागेको हो। अध्यागमन विभागका अनुसार गत सेप्टेम्बर १५ सम्म रेस्टुरेन्ट क्षेत्रमा १२ हजार ६२९ वटा अस्थायी रोजगार भ्रमण पास (PLKS) सक्रिय अवस्थामा रहेका छन्।
अध्यागमन विभागका निर्देशक जकारियाले विदेशी नागरिकले अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने वा आफूलाई जारी गरिएको पासको दुरुपयोग गरी अनुमति नभएको काम तथा व्यवसाय सञ्चालन गर्ने विषयमा विभागले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
उनका अनुसार विदेशी श्रमिकलाई जारी गरिएको पासका सर्त पालना गराउन तथा मलेसियाको अध्यागमन कानुनअनुसार काम भइरहेको सुनिश्चित गर्न सम्बन्धित क्षेत्रमा अनुगमन र प्रवर्तनलाई थप तीव्र पारिनेछ। अध्यागमन विभागले टमयाम रेस्टुरेन्टसहित सम्बन्धित क्षेत्रमा निरन्तर निगरानी राख्ने र अध्यागमनसम्बन्धी कसुर गरेको पाइएमा विदेशी नागरिकमाथि कानुनी कारबाही गर्ने जनाएको छ।
यो विषय थाइल्यान्डको दक्षिणी सीमा क्षेत्र प्रशासन केन्द्र (SBPAC) का कार्यवाहक महासचिव चोन्थन्या सेङ्फुमको भनाइपछि चर्चामा आएको हो। स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार उनले मलेसियाका करिब ५ हजार टमयाम रेस्टुरेन्टमा करिब २ लाख थाई नागरिक कार्यरत रहेको र तीमध्ये आधाभन्दा बढी अर्थात् करिब १ लाख जनासँग वैध कार्य अनुमति नरहेको दाबी गरेका थिए।
थाई नागरिकहरू मलेसियाको रेस्टुरेन्ट क्षेत्रमा ठूलो संख्यामा कार्यरत रहेको र विशेषगरी थाइल्यान्डसँग सीमा जोडिएका केलान्तानलगायतका राज्यमा उनीहरूको उपस्थिति बढी रहेको बताइएको छ। अध्यागमन विभागले भने विदेशी श्रमिकले आफूलाई प्रदान गरिएको PLKS को सर्तअनुसार मात्रै काम गर्नुपर्ने र वैध अनुमति बिना काम गर्ने वा पासको दुरुपयोग गर्नेहरूविरुद्ध कानुनअनुसार कारबाही गरिने जनाएको छ।




















