बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव

झापा । झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचारका क्रममा एक युवतीको मृत्यु भएपछि  आइतबार अस्पताल परिसर तनावग्रस्त बनेको छ । मृतकका आक्रोशित आफन्तजनहरू अस्पताल तोडफोडमा उत्रिएपछि भीड नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रु ग्यास प्रहार र लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी चार्जबाट केही व्यक्ति घाइतेसमेत भएका थिए । अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पक्षका आफन्तहरू शव राखेर अस्पतालविरुद्ध नाराबाजी गर्दै तोडफोडमा उत्रिएका थिए । 

आक्रोशित समूहले अस्पतालको झ्याल, ढोकामा तोडफोड गरेको झापाका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश मैनालीले घटनास्थलबाट हिमालय टाइम्सलाई बताए । तोडफोड बढ्दै गएपछि प्रहरी परिचालन गरेर सुरक्षा दिइएको मैनालीले बताए । 

इलामको सूर्योदय नगरपालिका–९ फिक्कल निवासी २२ वर्षीया देवीका तामाङलाई गत बुधबार एपेन्डिक्सको शल्यक्रियाका लागि कनकाई अस्पतालमा भर्ना गरिएको थियो । आइतबार बिहान अवस्था राम्रो छ भनेको केही बेरपछि चिकित्सकले बिरामीको अवस्था खराब हँुदै गएको भन्दै अर्को अस्पताल लैजान सुझाव दिएका थिए । शल्यक्रिया बुधबारै भएको थियो । मृतकका बुबा दावा तामाङका अनुसार चिकित्सकको सल्लाहबमोजिम छोरीलाई तत्कालै कनकाई अस्पतालकै एम्बुलेन्सबाट विराटनगरको नोबेल अस्पताल पु¥याउँदा चिकित्सकले बिरामीको बाटोमै मृत्यु भइसकेको जानकारी गराएका थिए । उपचारमा संग्लन चिकित्सक सन्तोषकुमार मिश्रलाई कारबाहीको माग गर्दै आफन्तहरूले नाराबाजी र तोडफोड गरेका थिए । आइतबार साँझ अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता भएको छ ।