कृत्रिम भए पनि आँखा त हो नि

काठमाडौं । रौतहटकी आयुषाकुमारी गिरी आँखा देख्दिनन् तर अरूले देख्दा उनका आँखा दुरुस्तझंै छन् । फुलो परेको जस्तो समस्याले आयुषाले सानैमा दृष्टि गुमाइन्, आँखाको सौन्दर्य पनि गुम्यो । 

तिलगंगा आँखा प्रतिष्ठानले आयुषालाई कृत्रिम आँखा प्रत्यरोपण गरिदिएको छ । यसबाट उनले दृष्टि त पाइनन् तर अनुहारमा सौन्दर्य फर्केको छ । उनका अभिभावक खुसी छन् । आयुषाका बुबा अजयकुमारले  दृष्टि नपाए पनि आँखा राम्रो देखएकोमा खुसी प्रकट गरे । 

अभिशेष ढुंगानाले पनि केही महिनाअघि प्रतिष्ठानबाट कृत्रिम आँखा प्राप्त गरेका छन् । प्रतिष्ठानमा भेटिएका उनका अभिभावक खुसी देखिन्थे । ‘अप्रेसन’ पछि फलोअपका लागि  आएका अभिशेष पनि कृत्रिम आँखा राखेर औधी खुसी छन् । उनको एउटा आँखामा भने दृष्टि छ ।  

सुनिधि पुनले पनि प्रतिष्ठानबाट कृत्रिम आँखा प्राप्त गरेकी छिन् । कृत्रिम आँखा प्रत्यारोपणबाट आप्mनो सौन्दर्य फर्केकोमा सुनिधि र उनका अभिभावक खुसी छन् । 

प्रतिष्ठानमै भेटिएकी प्रोशिका अधिकारी पनि कृत्रिम आँखा प्रत्यारोपणपछि खुसी छन् । कृत्रिम आँखा प्रत्यारोपणले आत्मविश्वास बढाएको उनले बताइन् । अर्का दृष्टिविहीन सुवास सिंह केसी र उनका अभिभावक पनि कृत्रिम आँखा प्रत्यारोपणबाट खुसी छन् ।

दृष्टिविहीनका लागि कृत्रिम आँखा सौन्दर्यको प्रतीक बनेर आएको छ । कृत्रिम आँखा राख्न दृष्टिविहीनका अभिभावक उत्साहित भएका छन् । 

राजधानीको एक निजी कार्यालयमा सहयोगीको काम गर्ने सीतादेवी आप्mनो दृष्टिविहीन छोरालाई कृत्रिम आँखा प्रत्यारोपण गर्न रकम जम्मा गर्र्दै छिन् । 

कृत्रिम आँखाले दृष्टिविहीन र तिनका अभिभावकको मुहारमा खुसी थप्ने काम गरेकाले यसप्रतिको आकर्षण पनि बढ्न थालेको छ । कृत्रिम आँखाले दृष्टि फर्काउन नसके पनि सौन्दर्य बढाउने हुँदा आकर्षण बढेको हो । 

तिलगंगा आँखा प्रतिष्ठानले सात वर्षदेखि कृत्रिम आँखा प्रत्यारोपण गर्दै आएको छ । प्रतिष्ठानमा हालसम्म ३ हजार २९४ जनाले कृत्रिम आँखा प्रत्यारोपणका आगि परामर्श लिएका छन् । तीमध्ये २ हजार ४५६ जनाले स्थायी कृत्रिम आँखा प्रत्यारोपण गरेका छन् । पाँच सयले ‘रेडिमेड’ आँखा लगाएका छन् । 

प्रतिष्ठानले बिरामीको आर्थिक स्थिति हेरेर निःशुल्क सेवा पनि दिने गरेको छ । हालसम्म प्रतिष्ठानबाट १७ जनाले निःशुल्क कृत्रिम आँखा प्रत्यारोपण गरेका छन् । 

आँखा रोग विषशेज्ञ डा. बेन लिम्बूका आँखाको रोगबारे जनचेतना फैलाउन सकिए धेरैका आँखा जोगाउन सकिने थियो ।