राजविराज । राजविराज नगरपालिका–१६, बोरिया निवासी किराना व्यवसायी तुलसी दास दुई सातादेखि बेपत्ता रहेका छन् । घरबाट निस्किएको दिनदेखि उनको अवस्था अज्ञात छ ।
दासकी श्रीमती सुमिन्द्रादेवीले शनिबार सञ्चारकर्मीहरूलाई बोलाए आप्mना श्रीमान् बेपत्ता भएको १३ दिन भएको जानकारी गराउँदै उनको अपहरण भएको बताइन् । उनले आफ्ना एकजना साथीको योजनामा अपहरण भएको आरोप लगाइन् ।
सुमिन्द्रादेवीले आफूलाई शंका लागेको व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी उजुरी दिएको जानकारी गराउँदै अविलम्ब पक्राउ गरेर कारबाही अघि बढाउन माग गरिन् । उनका अनुसार उनका ४५ वर्षीय श्रीमान् यही जेठ १३ गते बिहान ८ बजेतिर घरबाट ५० हजार रुपैया लिएर निस्केका थिए । आफ्ना श्रीमान् सर्लाहीमा एक वैवाहिक कार्यक्रममा सरिक हुने र फर्किंदा पसलका लागि सामान ल्याउने योजनाका साथ घरबाट हिँडेका उनले बताइन् ।
सुमिन्द्रादेवीका अनुसार उनका श्रीमान् र अपहरणका शंका गरेका व्यक्ति सँगै हिँडेका थिए । उनीहरू साथी हुन् । ती व्यक्ति १३ गते नै घर फर्केको तर आप्mना श्रीमान् नफर्केको र १४ गते दिउँसोदेखि सम्पर्कविहीन भएको उनले बताइन् । आप्mना श्रीमान् सम्पर्कविहीन भएको दिनदेखि नै आफूले शंका गरेका व्यक्ति फरार रहेको सुमिन्द्राको भनाइ छ ।
फिरौतीका लागि कतैबाट माग नआएको उनले बताइन् । जेठ १४ गते दिउँसो १ बजेतिर आफ्ना श्रीमान्ले मोबाइलबाट फोन गरेर आफू र साथी सँगै रहेको र भोलि (१५ गते) घर फर्किने जानकारी गराएको उनले बताइन् । त्यसपछि आफूले फोन गर्दा मोबाइल फोन स्विच अफ रहेको सुमिन्द्रादेवीको भनाइ छ ।
यता, घटनाको अनुसन्धान गरिरहेका वडा कार्यालयका सई हिलसकुमार सिंहले दासको अवस्था पत्ता लगाउन आफूहरूले काम गरिरहेको बताएका छन् । दास परिवारले दिएको किटानी निवेदनका अधारमा अनुसन्धान अघि बढाएको उनको भनाइ छ ।




















