बढेको पर्यटक र नबढेको आम्दानी

नेपालमा विदेशी पर्यटकको संख्या सन् १९८९–१९९० को राजनीतिक परिवर्तपछि सन् १९९८–१९९९ सम्म लगातार बढेर गयो । सन् १९९९ मा त त्यो बेलाकै नेपालको रेकर्ड भन्न मिल्नेगरी ४ लाख ९१ हजार ५०४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, नेपाल आउने विदेशी पर्यटकको त्यो संख्यात्मक तथ्यांक लगातार कायम रहन सकेन । सन् २००० मा ४ लाख ६३ हजार ६४६ जना (५ दशमलव ७ प्रतिशत कम) घट्दै गएर सन् २००१ मा त ३ लाख ६१ हजार २ सय ३७ जनामा (अघिल्लो वर्षको तुलनामा २२ दशमलव १ प्रतिशत कम) मा झ¥यो । 

यसरी नेपाल आउने विदेशी पर्यटकको संख्या घट्ने क्रम बढेर २००२ मा त सबैभन्दा धेरै २ लाख ७५हजार ४६८ मा झ¥यो । सन् २००१ को तुलनामा सो संख्या २३ दशमलव ७ प्रतिशतले कमी थियो । यसरी हेर्दा सन् २००३, २००४, २००५ र २००६ सम्म अलिअलि गर्दै नेपाल आउने पर्यटकको संख्याले फेरि उकालो चढ्ने क्रम बढ्यो भने सन् २००७ मा एकैचोटि ५ लाख २६ हजार ७०५ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरे । । 

यसरी नेपाल भ्रमण गर्ने विदेशी पर्यटक धेरथोर बढ्दै गएर सन् २०१४ मा ७ लाख ९० हजार ११८ जना विदेशीले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०१५ मा आएको भूकम्पका कारण सो वर्ष ५ लाख ३८ हजार ९७० जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । जबकि, सन् २०१० मै ६ लाख २ हजार ८६७ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । सन् २०१३ मा ७ लाख ९७ हजार ६१६ जना र सन् २०१४ मा ७ लाख ९० हजार ११८ जना विदेशीले नेपालको भ्रमण गरेका थिए । 

तर, बर्सेनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यालाई तुलना गरेर हेर्दा सन् २०१५ को भूकम्पपछि सन् २०१६ मा ७ लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेको देखिन्छ । त्यस्तै, सन् २०१७ मा ९ लाख ४० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा लगभग १२ लाख (११ लाख ७३ हजार ७२ जना) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

यसरी हेर्दा सन् २०१६ देखि २०१८ सम्मको तथ्यांक हेर्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या लगभग २० देखि ३१ प्रतिशतले बढेको देखिन्छ भने सन् २०१९ मा पनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या सन् २०१८ को भन्दा लगभग २० प्रतिशतले बढ्ने आशा गर्न सकिन्छ । तर, त्यसरी नेपाल भ्रमण गर्न आएका पर्यटकमा बढेका झन्डै ३५ प्रतिशत पर्यटकमध्ये छिमेकी देश भारत र चीनका पर्यटकहरू रहेका छन् । 

बाँकी श्रीलंका, थाइल्यान्डलगायत कम खर्च गर्ने खालका पर्यटकहरू रहेका छन् । त्यसैले, नेपाली पर्यटन व्यवसायी र नेपाल सरकारले अभैm पनि खास ध्यान दिनुपर्ने विषय भनेको कसरी हुन्छ, धेरैभन्दा धेरै खर्चिलो र गुणस्तरीय विदेशी पर्यटकहरूलाई नेपालमा आकर्षित गराउनेतर्पm ध्यान दिनुपर्ने नै हुनुपर्छ । हुन त त्यसरी खर्चिलो र गुणस्तीय विदेशी पर्यटकहरूलाई नेपालमा आकर्षित गराउनका लागि त्यस अनुसारको पूर्वाधार र सेवा सुविधा छ त भन्ने प्रश्न पनि सँगसँगै आउने गरेको छ । 

माथि शीर्षकमा भनेझैँ नेपालमा भ्रमणमा आउने विदेशी पर्यटकको संख्या अपवादबाहेक लगातार बढे तापनि उनीहरूले गर्ने दैनिक खर्च र बसाइ अवधि भने अपेक्षितरूपमा बढ्न सकेको देखिँदैन । किनभने, हाल नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको खर्च गराइ र उनीहरूको नेपाल बसाइँ अवधिको समयसीमा आजभन्दा लगभग १५–१६ वर्षअघिकै अनुपातमै देखिन्छ । किन यस्तो भइरहेको छ ? नेपालका पर्यटन व्यवसायीहरूले मात्रै नभएर नीति निर्माता, योजनाविद्, कर्मचारीतन्त्र र राजनीतिज्ञहरूले पनि एकपटक गहिरिएर र गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । 

जस्तो सन् २०१७ मा गरिएको एक अध्ययनअनुसार नेपाल आउने पर्यटकले औसतमा दैनिक ५४ अमेरिकी डलर खर्च गर्छन् । त्यस्तै, सन् २०१६ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले दैनिक ५३ अमेरिकी डलर खर्च गरेका थिए । 

त्यसैगरी, सन् २०१८ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले गरेको खर्चभन्दा विदेश घुम्न गएका नेपालीहरूले गरेको खर्च लगभग १३ अर्ब बढी भएको भनी राष्ट्र बैंकले नै सार्वजनिक गरेको थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले ४८ अर्ब खर्च गरेका थिए भने विदेश घुम्न गएका नेपालीहरूले ६१ अर्ब ४९ करोड खर्च गरे । 

हुन त तत्कालीन श्री ५ को सरकारले सन् १९९८ मा पहिलोपटक नेपाल भ्रमण वर्ष मनाउँदा विभिन्न लक्ष्यहरू लिएको थियो । जस्तै, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दैनिक खर्च ५५ अमेरिकी डलर पु¥याउने, उनीहरूको औसत नेपाल बसाइ १३ दिन पु¥याउने, सन् १९९८ मा ५लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने आदि लक्ष्यहरू लिइएको थियो । तर, सो वर्ष नेपाल भ्रमण वर्ष मनाउने क्रममा ती कुनै पनि घोषित लक्ष्यहरू पूरा भएनन् । त्यस्तै, सन् २०२० मा मनाइने नेपाल भ्रमण वर्ष पनि के हुने हो भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।

हुन पनि मान्छेले सधैं आशावादी हुने बानी बसाल्नुपर्छ, सकारात्मक सोच्नुपर्छ भन्ने भनाइलाई मनन गर्दै सन् २०२० मा नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण–२०२०’ तोकेको २० लाख मात्रै होइन, २० लाखभन्दा बढी नै होस् भन्ने कामना गर्नु हामी सबै नेपालीहरूको कर्तव्य हुन आउँछ ।