क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि पुर्व घोषित १० लाख अमेरिकी डलर अर्थात अहिलेको रेट अनुसार (करिब १५ करोड रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ।
मलेसियाका परराष्ट्रमन्त्री दातुक सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले आज मलेसियाका लागि नेपाली राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यलाई मन्त्रालय परिसरमै उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। यो सहयोग नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा खर्च गरिनेछ।

सन् २०२६ अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षति तथा भौतिक संरचनाको विनाशप्रति दुःख व्यक्त गर्दै मलेसियाका परराष्ट्रमन्त्री हाजी हसनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए।
चेक ग्रहण गर्दै कार्यवाहक राजदूत बज्राचार्यले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा मलेसिया सरकारप्रति आभार व्यक्त गरिन्। मलेसिया सरकारको यो सहयोगले बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।





















