आखिर् किन बढ्दैछन् मलेसियामा नेपाली युवतीको हत्या घटना ? दोषी को ?

क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङ राज्यमा कार्यरत दुई नेपाली महिला शंकास्पद अवस्थामा मृत फेला परेका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–३ की साङ्गेला मेन्दो तामाङ र सिन्धुपाल्चोककी सन्ध्या तामाङको मृत्युको घटनाबारे मलेसियाली प्रहरीले अनुसन्धान गरिरहेको छ।

स्रोतबाट प्राप्त जानकारी अनुसार, घरबाट पठाइएको सामान लिन जाने भन्दै दुवै महिला गत बिहीबार रातिको काम सकेर शुक्रबार सार्वजनिक बसमार्फत राजधानी क्वालालम्पुर पुगेका थिए। त्यसपछि उनीहरू क्वालालम्पुरस्थित एक होटलमा बसेको बताइएको छ। तर, उनीहरूको मृत्यु कसरी र कुन परिस्थितिमा भयो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

घटनालाई थप रहस्यमय बनाउने पक्ष मृतकमध्ये एक जनाको नाममा सामाजिक सञ्जालमार्फत रकम मागिएको विवरण समेत सार्वजनिक भएको बताइएको छ। प्राप्त जानकारीअनुसार, सन्ध्याको मृत्यु भएको जानकारी दिँदै साङ्गेलाको नामबाट कम्पनीमा कार्यरत अन्य नेपाली कामदारलाई सन्देश पठाइएको थियो। उक्त सन्देशमा आफू अस्पतालमा रहेको भन्दै रकमसमेत मागिएको बताइएको छ।

तर, कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने प्रश्नको स्पष्ट जवाफ नआएको र भिडियो कल गर्दा पनि सम्पर्क हुन नसकेपछि सहकर्मीहरूलाई शंका लागेको थियो। पटक–पटक रकम मागिएपछि शंका गरेका उनीहरूले पैसा नपठाई कम्पनीलाई जानकारी गराएका थिए। त्यसपछि घटनाबारे थप खोजी सुरु गरिएको बताइएको छ।

प्राप्त विवरणअनुसार, दुवै महिलाको मृत्यु भएको पुष्टि भएको छ। सन्ध्याको मृत्यु भएको तस्बिर पठाएर रकम मागिएको भनिए पनि त्यसअघि नै साङ्गेलाको समेत मृत्यु भइसकेको हुन सक्ने परिवारजनले आशंका गरेका छन्। मृतकको नाममा सामाजिक सञ्जाल प्रयोग भएको भनिएको घटनाले मृत्युको समय, घटनाक्रम र रकम माग्ने व्यक्तिको पहिचानबारे थप प्रश्न उब्जाएको छ।

यसैबीच, मृतकका आफन्तले घटनामा नेपाली नागरिककै संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, कसैको संलग्नता रहेको वा मृत्युमा कुनै आपराधिक गतिविधि जोडिएको विषयमा आधिकारिक पुष्टि भएको छैन।

स्रोतका अनुसार, प्रहरीले अनुसन्धानका क्रममा एक नेपाली नागरिक र एक स्थानीय व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ। तर, उनीहरूको संलग्नता, घटनाको वास्तविक कारण र सामाजिक सञ्जालमार्फत रकम मागिएको घटनाबीचको सम्बन्धबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

नेपाली दूतावास स्रोतका अनुसार, प्रहरी अनुसन्धान पूरा नभएसम्म घटनाबारे कुनै निष्कर्षमा पुग्न सकिने अवस्था छैन। घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानको नतिजा र सम्बन्धित निकायको आधिकारिक विवरण प्रतीक्षा गर्नुपर्ने देखिन्छ।

राजदूतावासले पनि घटनाबारे आवश्यक जानकारी संकलन गरी अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेको जनाएको छ। दूतावासले घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित मलेसियाली सरकारी निकायसँग समन्वय गर्नुका साथै अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याइरहेको छ।

प्रहरी अनुसन्धानबाट घटनाको वास्तविक कारण, मृत्युको परिस्थिति तथा मृतकको नाममा सामाजिक सञ्जालमार्फत रकम मागिएको घटनाको सत्यतथ्य खुल्ने अपेक्षा गरिएको छ। मलेसियामा दुई नेपाली महिलाको शंकास्पद मृत्यु र मृतकको नाममा रकम मागिएको घटनाले त्यहाँ कार्यरत नेपाली समुदायमा यतिखेर झन चिन्ता बढाएको छ।

केही महिना अधि पनि मलेसियाको मलाकामा मन्जु तामाङ नाम भएकी युवतीको हत्या भएको घटना बाहिर आएको थियो ।