नियुक्तिअघि नै म्यानपावरसंग रकम लिएको आरोपमा प्रस्तावित राजदूत खरेल विवादमा तानिए।

क्वालालम्पुर (मलेसिया):= प्रधानमन्त्री बालेन्द्र शाह “बालेन” सरकारको छनोटमा परि मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेल नियुक्ति भएर आउन नपाउँदै गम्भीर  विवादमा फसेका छन् ।

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलविरुद्ध म्यानपावर व्यवसायीहरूसँग आर्थिक लेनदेन गरेको र उनीहरूकै सवारीसाधन प्रयोग गरेको गम्भीर आरोप लागेको छ।

आज २८ असोज २०८३ मा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियाको राजदूत बन्न लागेका व्यक्ति नै म्यानपावर व्यवसायीसँगको अनुचित साँठगाँठमा जोडिनु ‘स्वार्थको द्वन्द्व’ (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) भएको भन्दै प्रश्न उठाएका थिए।

खरेलले मलेसियाका लागि राजदूत नियुक्त भएपछि काम मिलाइदिने प्रलोभनमा रकम लिएको र झापा तथा पोखरा क्षेत्रमा जग्गा एवं अनुदान मिलाइदिने बहानामा सर्वसाधारणलाई ठगी गरेको उजुरी प्रमाणसहित समितिमा पेस भएपछि उनको सुनुवाइ प्रक्रिया बीचमै स्थगित (होल्ड) गरिएको छ।

खरेलको ठगीमा परेकाहरूमध्ये कतिपयप भने विदेशमा रहेका छन् । उनीहरूले समेत विषय उठाएका छन् । प्रमाणसहित उनीहरूले सांसद, पत्रकार र अन्य व्यक्तिलाई खरेलको विषयमा जानकारी गराएका थिए ।

प्रस्तावित राजदूत खरेलले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरू पूर्ण रूपमा भ्रामक, तथ्यहीन र चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित रहेको भन्दै अस्वीकार गर्नुभएको छ। समितिमा आफ्नो प्रष्टीकरण दिँदै उहाँले आफूले कुनै पनि व्यवसायी वा व्यक्तिसँग अनुचित लेनदेन नगरेको दाबी गर्दै कसैसँग रकम लिएको प्रमाण भए पेस गर्न चुनौती दिनुभयो।

म्यानपावर व्यवसायीको गाडी चढेको आरोपमा उहाँले त्यो गाडी आफ्नो आफन्तको भएको स्पष्ट पार्नुभयो। यद्यपि, सांसदहरूले कूटनीतिक मर्यादा र देशको प्रतिष्ठा जोडिएको विषयमा गम्भीर प्रश्न उठेकाले हतारमा निर्णय गर्न नहुने अडान लिएपछि समितिका सभापति बोधनारायण श्रेष्ठले प्राप्त प्रमाणहरूको सत्यतथ्य छानबिन नभएसम्मका लागि सुनुवाइ प्रक्रिया अगाडि नबढ्ने निर्णय सुनाउनुभएको हो।

एक उच्च स्रोतले दिइएको जानकारीअनुसार ठगी धन्दामा बिगत लामो समयदेखि मलेसियामै बसि ब्यापार व्यावसाय गर्दै आएका केहि नेपाली ब्यावसायीहरुको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ । भित्रभित्रै सम्बन्धित निकायले मलेसियामै बस्ने नेपाली ब्यावसायीहरुको विषयमा पनि अनुसन्धान समेत थालेको जानकारी प्राप्त भएको छ ।