काठमाडौं । प्रदेश ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले दिएको ३ सय १० रनको लक्ष्य पछ्याएको कप्तान पारस खड्का तथा उपकप्तान ज्ञानेन्द्र मल्ल सम्मेलित टोली प्रदेश तीन निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रनमै समेटियो ।
अनुभवी ब्याट्सम्यानद्वय पारस र ज्ञानेन्द्र लामो समय क्रिजमा रहन सकेनन् । पारस १९ र ज्ञानेन्द्रले २६ रनमै पवेलियन फर्किए । १६ बल खेलेका पारसले ३ चौका प्रहार गरे । ३३ बल खेलेका ज्ञानेन्द्रले भने २ चौका र १ छक्का प्रहार गरे ।
तेस्रो ओभरमा रित गौतम रन आउट भएपछि क्रिजमा आएका इशान पाण्डेले भने ४८औं ओभरसम्म खेल्दै क्रिजको एकतर्फ धानेका थिए तर उनलाई अर्कातर्फ कसैले साथ दिन सकेनन् । १ सय १७ बल खेलेका उनले ७९ रन जोडे । त्यसक्रममा उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
प्रदेश ३ का ६ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । रित गौतम ५, रविन जोशी ८, जितेन्द्रसिंह ठकुरी ०, सोनु तामाङ २, सोनु देबकोटा ० मा आउँट भए भने सूर्या तामाङ १ रनमा नटआउट रहे । आर्मीका सहाब आलमले ३, करण केसीले २ तथा सुशन भारी, कुशल मल्ल, रोहित पौडेलले १–१ विकेट लिए ।
आफ्नो ब्याटिङ अर्डर परिवर्तन गर्दै ६ नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रनको बलियो लक्ष्य बनाएको थियो ।
यसअघि ओपनर आउने विनोदले ४२ बलमा आक्रामक ७५ रनको पारी खेले । सो क्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरे । विनोदसँगै ओपनर राजु रिजालले ५१ रनको अर्धशतकीय पारी खेले । ८६ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।
त्यसबाहेक रोहित पौडेलले ४३, हरिबहादुर चौहानले ३८, राजेश पुलामीमगरले २९, कुशल मल्लले २६ तथा करण केसीले २१ रन जोडे । आर्मीका सबै ८ खेलाडीले दोहोरो अंक जोडेपछि आर्मीले सजिलो जित हात पारेको हो ।
आर्मीले सुरुवात भने निकै सुस्त थियो । १२औं ओभरमा हरिशंकर झाका रूपमा पहिलो विकेट गुमाउँदा उसले २३ रनमात्रै जोडेको थियो । दोस्रो विकेटका लागि हरिबहादुर चौहान र ओपनर राजु रिजालले ७३ रनको साझेदारी गर्दै आर्मीको इनिङ उकासेका थिए ।
प्रदेश ३ का नन्दनकुमार यादव र जितेन्द्रसिंह ठकुरीले २–२ तथा पारस खड्का र सोनु देवकोटाले १–१ विकेट लिए । आर्मीले अब बिहीबार हुने एपीएफ र पुलिस क्लबबीचको दोस्रो सेमिफाइनल खेलेको विजेतासँग खेल्नेछ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालयको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले २० लाख तथो उपविजेता टोलीले १० लाख हात पार्नेछ । यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।




















