पशुपतिनाथको सम्पत्ति सार्वजनिक

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले श्रीपशुपतिनाथ मन्दिरको सम्पत्ति सार्वजनिक गरेको छ । ‘श्रीपशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन’ समितिले एक वर्ष अध्ययन गरेर तयार गरेको प्रतिवेदनअनुसार कोषले बुधबार सम्पत्ति सार्वजनिक गरेको हो । 

पशुपतिनाथको ढुकुटी, नगद मौज्दात तथा जग्गासम्बन्धी विवरण सार्वजनिक गरिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २१५ रुपैयाँ नगद बैंकमा रहेको छ । यसमध्ये १ अर्ब रुपैयाँको अक्षय कोष निर्माण गरेर ब्याजबाट केही रकम सामाजिक सेवा र विपद्मा खर्च गर्ने गरिएको जनाइएको छ ।  

कोषअन्तर्गत रहेको दर्ता प्रमाणित जग्गा ३ हजार ६६७ रोपनी चार आना तीन पैसा रहेको छ । त्रिभुवन विमानस्थल र गल्फ कोर्षमा रहेको जग्गा ९९ वर्षको लागि सम्झौता गरी भोगचलन गर्न दिइएको जग्गा ११ सय ६१ रोपनी १४ आना ३ पैसा छ । तारागाउँ रिजेन्सी होटेल मोही रहेको जग्गा १७ रोपनी छ । साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी जग्गा २३१ रोपनी १० आना एकदाम छ । सरकारले गोठाटारमा २०४६ सालमा दिएको जग्गा ५३४ रोपनी छ । गोठाटारमा केही जग्गा अझै हराइरहको छानविन समितिका एक सदस्य डा. मिलनकुमार थापाले बताए । 

पशुपतिको मूलढुकुटीमा २०१९ सालदेखि २०६८ सम्ममा ८ किलो २३२ ग्राम सुन, १७५ किलो ४५८ ग्राम चाँदी रहेको छ । थियो । २०६९ देखि २०७५ सम्ममा १ हजार ४४ दशमलव ६४ ग्राम सुन जम्मा भएको छ । २०१९ देखि २०७५ सम्ममा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन र ३१६ किलो ५८६ ग्राम चाँदी मूलढुकुटीमा छ  । २०१९ भन्दा अगाडिको मुचुल्का प्राप्त हुन नसकेको जनाइएको छ ।  

गुठी संस्थानले असुलउपर गरी पशुपति क्षेत्रभित्र चलाउनुपर्ने महास्नान गुठीसमेत गरी जम्मा १९५ वटा गुठी रहका छन् । गुठी संस्थानले सबै गुठीहरूको बारेमा पूर्णजानकारी नदिएको थापाले बताए । 

छानविन समितिले  विभिन्न स्थानबाट १५ सय ५ रोपनी २ आना २ पैसा जग्गा फेला पारेको जनाइएको छ । पुशपति क्षेत्रभित्र ११९ वटा पाटी, पौवा, सत्तल रहेको जनाइएको छ । 

पुशपतिनाथ भण्डार तहविल, अमालकोट कचहरी र जयवागाीश्वरी भण्डारतर्फको हराएको नेपाल राज्यभित्रका जग्गा खोजविन गर्न नेपाल सरकारबाटै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल, मालपोत कार्यालय, नापी शाखासमेतको प्रतिनिधित्व हुनेगरी एक अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गरी हराएको जग्गा खोजतलास गरी दर्ता गर्न आवश्यक रहेको छानविन समितिको निष्कर्ष छ । 

२०१९ सालभन्दा अगाडिको कुनै विवरण फेला नपरेकोले श्री पशुपतिनाथको अझै धरै सम्पत्ति  रहेको हुनसक्ने छानविन समितिको निष्कर्ष छ । श्री पशुपतिनाथको चलअचल सम्पत्ति, पर्वपूजा सञ्चालन र सबै आयस्ताको व्यवस्थापन एकद्वार प्रणालीमा पशुपति क्षेत्र विकास कोषअन्तर्गत व्यवस्थापनका लागि गुठी ऐन संशोधन गर्न छानविन समितिको सुझाव छ ।