सुर्खेत । कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहले अभियान्ता ज्ञानेन्द्रबहादुर शाहीलाई प्रहरीले कुनै प्रकारको यातना नदिएको दाबी गरेका छन् । जुम्ला घर भएका शाहीलाई गत जेठ १५ गते सुर्खेतबाट पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले दिएको जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी हिरासतमा शाहीलाई यातना दिइएको भन्दै प्रहरीको सर्वत्र आलोचना भएपछि डिआइजी शाहले सोमबार पत्रकार सम्मेलन गरी प्रस्टीकरण दिएका हुन् ।
डिआइजी शाहले जेठ १५ मा स्थानीय खुल्लामञ्चमा आयोजित कार्यक्रम सम्पन्न भएलगत्तै पक्राउ पुर्जी दिएर शाहीलाई पक्राउ गरिएको दाबी गरे । सो क्रममा उनका समर्थकहरूले प्रहरीमाथि ढुंगामुढा गरेको र प्रहरीसहित उनीसमेत घाइते भएको उनको भनाइ थियो । ‘प्रहरीले हिरासतमा राखेर यातना दिएको होइन,’ उनले भने ।
शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक नीरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा र जवानद्वय रामसागर वर्मा, जितबहादुर बोहरा, पवन सुवेदी र हस्तसिंह घाइते भएको उनले जनाए । गत वैशाखमा आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए । सोही भिडियोलाई आधार मानेर पत्रकार महासंघका तर्फबाट जाहेरी दिइएको थियो । पक्राउपछि उनलाई काठमाडौं पठाइएको थियो ।
हिरासतमा कुटपिट : आयोग
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अभियान्ता ज्ञानेन्द्र शाहीमाथि हिरासतमै कुटपिट भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सचिव वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै घटनाबारे आयोगले थप अनुसन्धान गरिरहेको समेत जनाएका छन् । ‘प्रहरीको कुटपिटबाट घाइते भई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत ज्ञानेन्द्रबहादुर शाहीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको टोलीले जेठ १७ गते अनुगमन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी हिरासतमा कुटपिटका कारण शाहीको खुट्टामा चोट लागेको र निजलाई पक्राउ गर्दा पक्राउ पुर्जीसमेत नदिएको आयोगको प्रारम्भिक अनुसन्धानबाट पाइएको छ ।’
आयोगले शान्तिपूर्ण सभा–सम्मेलन गर्न पाउने अधिकारको सम्मान गर्न, प्रहरीको यातनाका कारण घाइते भएका शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न, घरपरिवारलाई भेटघाटको व्यवस्था मिलाउन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’




















