सुरु भयो स्मार्ट पार्किङ

काठमाडौं । लामो सयमदेखि सबैको चर्चा र चासोको विषय बनेको स्मार्ट पार्किङ बिहीबारदेखि सञ्चालनमा आएको छ । काठमाडौ महानगरपालिकाभित्रको पार्किङको समस्यासमधान गर्न पाँच स्थानमा स्मार्ट पार्किङ सुरु भएको हो । महानगरपालिकाले वैशाख १ गतेबाटै स्मार्ट पार्किङ सञ्चालनमा ल्याउने तयारी गरेको भए पनि विभिन्न प्राविधिक समस्याले सञ्चालन हुन सकेको थिएन । उपत्यकाभित्र सवारीसाधनको चाप बढ्दै जाने र पार्किङ स्थल नहुने समस्या स्मार्ट पार्किङपछि केही हल हुने महानगरको भनाइ छ । महानगरपालिकाले न्यूरोड आसपासका केही क्षेत्रमा ‘हिृवल्स ट्रली एयर्स’ सँगको सहकार्यमा स्मार्ट पार्किङको सुरुवात गरेको हो । 

हाल महानगरपालिकाले यो परीक्षणकाल भएकोले ५ स्थानमा सुरुवात गरेको बताएको छ । अहिले खिचापोखरी सडक (आरबी कम्प्लेक्सको अगाडि), पाको सडक (ताम्राकार कम्प्लेक्स भएको स्थान), प्युखा मार्ग (रामेश्वर स्वीट्सको पछाडि), शुक्रपथ (विशाल बजारबाट इन्द्रचोक जाने सडक) र धर्मपथमा स्मार्ट पार्किङको व्यवस्था छ । 

सवारीसाधनको अत्यधिक चापका कारण ट्राफिक जाम हुनुका साथै शहर अस्तव्यस्त भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको थियो । पाँच स्थानमा स्मार्ट पार्किङ सञ्चालन गर्न एक करोड रुपैयाँ लागेको ‘हिृवल्स ट्रली एयर्स’ प्रालिका सूचनाअधिकारी प्रविधि इन्जिनियर हरिश अग्रवालले जानकारी दिए । सुरुवाती अवस्थामा अलि कठिनाइ भए पनि विस्तारै सहज हुने उनको भनाइ छ । 

यी क्षेत्रमा पार्किङ गर्दा दुई पांग्रे सवारीका लागि प्रतिघण्टा करबाहेक २० रुपैयाँ लाग्नेछ । त्यस्तै चारपांग्रेका लागि प्रतिघण्टा ६० रुपैयाँ लाग्नेछ । पार्किङको सेवा लिन चाहनेहरूले स्मार्ट फोनमा ‘केटिएम पार्क’ नामक एप डाउनलोड गरी आफ्नो साधन पार्किङ गर्ने स्थान बुक गर्न सक्नेछन् । सेवाग्राहीले पहिला ‘केटिएम पार्क’ एप प्रयोग गर्न सक्नेछ । 

चारपांग्रे सवारी धर्मपथमा मात्रै पार्किङ हुनेछ । सबै स्थानमा गरेर करिब ७ सयवटा दुईपांग्रे र १ सयवटा चारपांग्रे पार्किङ हुनेछन् । बुकिङ गर्ने सेवाग्राही १५ मिनेटभित्र आफूले पार्किङ बुक गरेको स्थानमा पुग्नु पर्नेछ । 

व्यवस्थापनका लागि गोप्रो क्यामरासहित ६० जना पार्किङ सहयोगी खटिएका छन् । यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुनेछ । पार्किङ स्थलमा एलइडी स्क्रिन राखिएको छ । स्क्रिनबाट पार्किङका लागि बुक भएको सवारीसाधनको संख्या र पार्किङका लागि खाली रहेको देखाउन सहयोग गर्नेछ । बुक नगरी आउनेले स्क्रिनबाट पार्किङका लागि स्थान खाली भए नभएको थाहा पाउन सक्नेछ । 

महानगरका सार्वजनिक निजी साझेदारी विभागका निर्देशक धु्रव काफ्लेका अनुसा केही महिनामापछि सेन्सरमा आधारित पार्किङ सुविधा हुनेछ । सेन्सरमा आधारित पार्किङका लागि सहकार्य भएको र जग्गाको व्यवस्था भइसकेको उनले बताए । ‘अटोमेटिक बिलिङ मिसिन’बाट रसिद दिइने भएकाले आम्दानी र खर्च पारदर्शी हुने महानगरको भनाइ छ । पार्किङ गरेको शुल्कको कुल आम्दानीको २० प्रतिशत रकम महानगरपालिकाले र ८० प्रतिशत साझेदार कम्पनीले पाउने छन् । करलगायत सबै शुल्क कम्पनीले तिर्नेछ ।