काठमाडौं । ‘मुखले भन्नु र साँच्चै काम गर्नु फरक हुँदो रहेछ, महिनावारी भएको समयमा मन्दिर गएर पूजा गर्न पटकपटक साहस जुटाएँ तर हालसम्म सकेको छैन,’ राजधानीमा भेटिएकी सजना खत्रीले भनिन् । महिनावारी हुँदा बार्ने होइन गर्व गर्ने कुरा हो भनी आफ्ना दौतरीहरूसँग उनी सधैं भन्ने गर्छिन् । आफू मन्दिर जान भने सकेकी छैनन् ।
महिनावारीका कुरामा अल्झिएर बस्नु हुँदैन भनेर उनलाई बाबुले पनि सम्झाउने गर्छन् । आमालाई भने परम्परामा अलिक बढी विश्वास छ । सजनालाई अरू जे भए पनि कही कतै कुनै शक्ति छ भन्ने विश्वास हुन्छ । ‘भगवानले सजाय दिने हो कि जस्तो डर महसुस हुन्छ,’ उनले भनिन् ।
राजधानीमै भेटिएकी अर्की युती अजिता पुन महिनावारीको समयमा मन्दिर जान उचित ठान्दिनन् । हिँड्दै गर्दा कुनै मन्दिर नजिक पुगिन् भने क्षमा माग्दै तर्किएर हिँड्छिन् । महिनावारीको समयमा मन्दिर जानु हुन्न, पूजा गर्नु हुन्न भन्ने कुरा उनले स्कुलले विद्यार्थी हुँदा साथीहरूबाट सुनेकी थिइन् । मन्दिर जाने र पूजा गर्ने बाहेक अरू काम उनी बार्दिनन् ।
कृतिका सम्बाहाम्फेले पनि हालसम्म महिनावारी बारेकी छैनन् तर त्यसबेला मन्दिर जाने र पूजा गर्ने गरेकी छैनन् । त्यसो गर्न उनको मनले मान्दैन । उनी भन्छिन्, ‘साथीहरूसँग घुम्दै मन्दिर पुगेकी छु तर मन्दिरको टीका र प्रसाद लिएको छैन, पाप लाग्छ भन्ने सुनेकोले डर लाग्छ ।’
नाम उल्लेख गर्न नचाहने अर्की एक युवतीले पुस्तौंदेखिको चलन मनबाट हटाउन नसकेको बताइन् । महिनावारीमा बार्ने गरिएका धेरै आफूले नमाने पनि मन्दिर भने नगएको उनको भनाइ छ । सुदूरपश्चिमका केही केही जिल्लामा महिनावारीमा घरभित्र पस्नै नहुने छाउपडी प्रथा कायम छ । देउता रिसाएर हानी गर्छन् भन्ने मान्यता रहेकाले छाउपडी प्रथा हट्न सकेको छैन ।
हरेक नेपाली महिलाको मनबाटै डर नहटाएसम्म परिवर्तन नआउने अभियन्ताहरू बताउँछन् । सरकारी तथा गैरसरकारी संस्थाहरूले सुरक्षित महिनावारीसम्बन्धी कार्यक्रम गाउँगाउँमा पु¥याइरहेको पाइन्छ । उनीहरूले अन्धविश्वास हटाउन प्रेरित गर्ने गरेका छन् तर महिनावारी बार्ने चलन उस्तै छ । मन मस्तिष्कबाट अन्धविश्वास हटाउन लामो समय लाग्न सक्छ ।
समाजको अगाडि खुलमखुला आवाज उठाउने महिलाहरू पनि महिनावारी भएको समयमा मन्दिर जान डराउने महिला अधिकारकर्मी डा. रेणुराज अधिकारी बताउँछिन् । महिनावारी बार्नुपर्ने कुरा सुनेर हुर्केका महिलाहरूले महिनावारीलाई प्राकृतिक वरदानको रूपमा लिए पनि पाप लाग्दैन भन्ने विश्वास हुन नसकेको उनको भनाइ छ ।




















