काठमाडौं । इंग्ल्याण्ड र वेल्समा बिहीबारदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) क्रिकेट विश्वकपको १२ औं शृंखला सुरु हुँदै छ । १६ दिन चल्ने प्रतियोगितामा विश्वका उत्कृष्ट १० टोलीहरू क्रिकेटको प्रतिष्ठित उपाधि उचाल्ने एक आपसमा भिड्नेछन् ।
यो इंग्ल्याण्डमा आयोजना हुन लागेको पाँचाँै विश्वकप हो । यसअघि इंग्ल्याण्डले १९७५, १९७९, १९८३ र १९९९ मा विश्वकपको आयोजना गरिसकेको छ । यस विश्वकपको आयोजनाको अधिकार इंग्ल्याण्डले २००६ मै हासिल गरेको थियो ।
विश्वकपमा आयोजक इंग्ल्याण्डसँगै दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, वेष्टइण्डिज गरी १० वटै टोलीहरू एक आपसमा खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रत्येक चार वर्षमा क्रिकेटको अन्तर्राष्ट्रिय निकाय आइसिसीले आयोजना गर्ने प्रतियोगिताको पहिलो संस्करण १९७५ मा इंग्ल्याण्डमा आयोजना भएको थियो । अस्ट्रेलिया क्रिकेट विश्वकपको सबैभन्दा सफल टोली हो । उसले ५ पटक विश्वकपको उपाधि चालिसकेको छ । त्यसबाहेक वेष्टइण्डिज र भारतले दुई÷दुईपटक उपाधि उचालेका छन् । त्यसबाहेक श्रीलंका र पाकिस्तानले समेत एक÷एकपटक उपाधि उचालेका छन् ।
यसवर्षको विश्वकप आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल मैदानमा हुँदै छ । खेल नेपाली समयानुसार दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसपटक उपाधि दाबेदार मानिएको इंग्ल्याण्डलाई अभागी टोलीको उपमा पाएको दक्षिण अफ्रिकाले कडा चुनौती दिने निश्चित छ ।
इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले आफूहरू विश्वकपमा सकारात्मक सुरुवात गर्न आतुर रहेको बताइसकेका छन् । ‘हामी अघिल्लो हप्तादेखि नै विश्वकपको पर्दा उघार्न तयार थियौं,’ उनले भने, ‘हाम्रो टोलीको तयारीबाट म निकै खुसी छु र सकारात्मक सुरुवातको अपेक्षा गरेको छु ।’
क्रिकेटको जन्म इंग्ल्याण्ड भए पनि इंग्ल्याण्डले विश्वकप उपाधिको स्वाद भने चाख्न पाएको छैन । इंग्ल्याण्ड यसअघि तीनपटक फाइनल खेलेपछि उपविजेतामै सीमित रहेको छ । यसपटक इंग्ल्याण्डका लागि ज्यासन रोय र जोनी बेइस्र्टोे आक्रामकरूपमा उदाएका छन् ।
दक्षिण अफ्रिकाको विश्वकप यात्रा हालसम्म सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरिएको थियो । सन् १९९२ मा इंग्ल्याण्डसँग, सन् १९९९ मा अस्ट्रेलियासँग, सन् २००७ मा फेरि अस्ट्रेलियासँग र २०१५ मा न्युजिल्याण्डसँग दक्षिण अफ्रिका सेमिफाइनलमा पराजित भएको थियो ।
दक्षिण अफ्रिकामा मुख्य तीव्रगतिका बलर डेल स्टेन भने पूर्णरूपमा निको नभइसकेका कारण उपलब्ध हुनेछैनन् । उनको अनुपस्थितिमा प्रशिक्षक ओटिस गिब्सनले क्रिश मोरिया वा ड्वाइने प्रिटोरियसलाई स्थान दिने निश्चित छ । यस्तै, टोलीमा लुंगी एनगिदी र कागिसो रबाडाको उपस्थितिले भने टोलीलाई अझ मजबुद बनाएको छ ।




















