काठमाडौं । कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘घामड शेरे’ को छायांकन सकिएको छ । पाँच साताका लागि सुर्खेत पुगेको चलचित्र टिमले छायांकनको काम सकिएको र अब प्रोस्ट प्रोडक्सनको काम थालिने जानकारी दिएको छ । रोमान्स र कमेडीको संयुक्त लगानीमा निर्माण भएको यो चलचित्रमा पहिलोपटक स्वस्तिमा र निश्चलको जोडी दर्शकले स्क्रिनमा देख्न पाउनेछन् । यसअघि स्वस्तिमा र निश्चल म्युजिक भिडियोमा र अन्य चलचित्रको गीतको भिडियोमा मात्र सँगै देखिएका थिए । हेमराज विसीले निर्देशन गरेको घामड शेरे’ को हालसम्म सार्वजनिक भएका फोटोहरूलाई निहाल्ने हो भने चलचित्रमा निश्चल र स्वस्तिमा पतिपत्नीको भूमिकामा छन् ।
यो चलचित्रका लागि निश्चलले मात्र २५ लाख पारिश्रमिक लिएको चर्चा छ । बुझिएअनुसार स्वस्तिमाले पनि महँगो पारिश्रमिक लिएकी छन् । बिसी मोसन पिक्चरको ब्यानरमा निर्माण भएको यस चलचित्रमा निश्चल र स्वस्तिमा सँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । आउँदो असोज ३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने ‘घामट शेरे’ नरेन्द्र मैनालीले खिचेका हुन् ।




















