पर्सा । बालक अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले बुधबार तीनजना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा एक भारतीयसहित तीन युवक पक्राउ परेका हुन् ।
पक्राउ परेका भारत विहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ निवासी सिकेन्द्र साह र बाराकै खपरताता बस्ने विनेश महतोलाई बुधबार पत्रकारसम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।
घरअगाडि खेलिरहेका बालक करणलाई जेठ १० गते अपहरण गरी उनका पितासँग ३० लाख फिरौती मागेको र फिरौती पाउन ढिलो भएपछि अपहरणकारीले बालकको हत्या गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी विकास र सकेन्द्र घाइते भएको बताए ।
अपहरणकारीले दिएको सूचनाका आधारमा कलैया उपमहानगरपालिका–२५ मा पर्ने खौराही खोलामा बालकको शव खोज्ने क्रममा विकास र सिकेन्द्र भागेपछि उनलाई नियन्त्रणमा लिन गोली चलाएको उपरीक्षक ढकालले जानकारी दिए । घाइते दुवैको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । खोराही खोलाबाट बरामद गरिएको करणको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ ।



















