विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माको नाम, शान, मान र अर्थतन्त्रमा योगदान अनि समग्र अर्थ राजनीतिक महŒव छ । इतिहास हेर्दा आजभन्दा झण्डै ६६–६७ वर्षअघि (सन् १९५३, मे २९ मा) विश्वकै अग्लो हिमचुचुरो चोमोलुङ्माको शिखरमा दुई मानवले पाइला टेकेका थिए । ती दुई मानव थिए–नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड पर्सिभल हिलारी ।
उनीहरूले समुन्द्र सतहदेखि नाप्दा सन्सारकै हालसम्मकै अग्लो शिखर मानिएको ८,८४८ मिटर अग्लो हिममा चुचुरोमा इतिहासमै प्रथम पटक पाइला टेकेपछि त्योबेलादेखि माउन्ट एभरेस्ट भन्न थालेको हो । नेपालीमा सगरमाथा र त्यस क्षेत्रका बासिन्दाहरूले चोमोलुङमा भन्ने गरेका थिए । त्यो बेला तत्कालीन बेलायती महारानीको राज्यभिषेकले भन्दा बढी चर्चा यो समाचारको भएको थियो ।
त्यसयता लगभग ७ हजार जनाले ९ हजार पटक (एकै व्यक्तिले कयौंपटक गरेर) विश्वकै अग्लो हिमचुचुरो सगरमाथाको सफलतापूर्वक आरोहण गरिसकेका छन् । यसको नाम, शान, मान र अर्थ राजनीतिक महŒवले गर्दा नै वर्षेनी सगरमाथा चढ्न चाहनेहरूको भीड लाग्ने गरेको छ । कुनै पनि पर्वतारोहीका लागि जीवनमा एकपटक विश्वकै अग्लो हिमचुचुरो सगरमाथा आरोहण गर्नु भाग्यको अवसर मानिन्छ । कुनै पनि पर्वतारोहीले यो शिखरको आरोहण गर्नसक्यो भने उसले पाउने नाम, शान, मान अर्कै हुन्छ ।
यस्तै यो सिजनमा पनि विश्वकै अग्लो हिमचुचुरो सगरमाथा चढ्न आउने विश्वभरिका पर्वतारोहीको संख्या ३५० जनाको हाराहारी रहेको समाचार प्रकाशित भएको छ । २०७५ को वसन्त ऋतुमा ३९ देशका पर्वतारोहीहरूले सगरमाथा चढ्नका लागि पर्यटन विभाग पर्वतारोहण शाखाबाट अनुमति लिएका छन् ।
इतिहास हेर्दा सगरमाथाको चुचुरोमा प्रथम मानव पाइला राख्ने प्रयासका क्रममा अन्य कैयौं पश्चिमा देशका पर्वतारोहीहरूले पनि लामो समयदेखि प्रयास गरेका थिए । खासगरी तत्कालीन शक्ति राष्ट्रहरू बेलायत, फ्रान्स, इटली, जर्मनी आदि देशका पर्वतारोहीहरूले विश्वका अग्ला हिमाल आरोहणका लागि होडबाजी गरेका थिए । त्यसैले सर्वप्रथम सन् १९२१ मै सगरमाथा चुचुरोमा मानव पाइला राखेरै छाढ्ने दृढताका साथ बेलायतका पर्वतारोही कर्णेल चाल्र्स हवार्ड बरीको नेतृत्वमा प्रथम सगरमाथा आरोही टोली त्यसतर्फ गएको थियो । तर, उनीहरूले यो चुचुरोमा पाइला राख्न सकेनन् । बरु उनीहरूको टोलीमा सदस्य रहेका डाक्टर एएम कल्लसले सगरमाथा चढ्न जाने क्रममा ज्यान गुमाउने प्रथम मानव बन्नपुगे ।
त्यसपछि बीचको समयमा स्वीट्जरल्यान्ड, फ्रान्स, जर्मनी, इटली लगायत पश्चिमा देशका पर्वतारोहीहरूले पनि विश्वकै अग्लो यो हिमचुचुरोमा पाइला राख्ने प्रयास जारी राखे । सो क्रममा उनीहरूले तिब्बततर्पmको बाटो भएर अनेकौंपटक सगरमाथा चढ्ने प्रयास गरे । सफलता भने बेलायती पर्वतारोही टोलीलाई सन् १९५३ मे २९ का दिनमा मिल्यो । त्यो श्रेय नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारीले पाए ।
अहिलेको सगरमाथाको नाम नसुन्ने मान्छे कमै होलान् ! हुन त पहिले पहिले विदेशीमाझ ‘सगरमाथा’ लाई सगरमाथा भन्दा पनि ‘चोमोलुङ्मा’ भनेर बढी चिनिन्थ्यो । पछि आएर ‘माउन्ट एभरेस्ट’ भनेर बढी चिनिन थाल्यो । नेपालका केही आदिवासी जनजातिहरू र चिनियाँ÷तिब्बतीहरू चाहिँ अझै पनि ‘चोमोलुङ्मा वा झोमोलुङमा’ भनेरै चिन्दैछन् ।
नेपाल सरकार, नेपाली सञ्चार क्षेत्र, बुद्धिजीवीलगायतले यो शिखरलाई सगरमाथा भनेरै चिन्ने गरेका छन् । धेरैलाई अझै पनि ‘चोमोलुङ्मा’ वा झोमोलुङ्मा’ चिनियाँ भाषाको नाम हो भन्ने ठानेका छन् । यस्तो ठान्नाले आदि अनादि कालदेखि उक्त क्षेत्रमा बस्दै आएका आदिवासी जनजातिहरूले भन्ने गरेको यो नामको महिमा हराएको छ ।
अब बिस्तारै विदेशीहरूले लेखेका किताबहरूमा मात्रै ‘चोमोलुङमा’ वा झोमोलुङमा’ नाम सीमित रहेको देखिन्छ । अझै पनि कतिपय विदेशी लेखकले ‘चोमोलुङ्मा’ वा झोमोलुङ्मा’ नै लेख्ने गरेका छन् । स्थानीयस्तरमा चोमोलुङ्मा नामलाई प्राथमिकता दिएर ठाउँ, निकाय, विभिन्न संस्थाहरूको नाम यसको नामसँग मेल खानेगरी राख्ने हो भने यो शब्द रहिरहने थियो ।
आजभन्दा ९ वर्षअघि (सन् २०११) नै सगरमाथा आरोहण गर्न आएका पर्वतारोहीबाट नेपाल सरकार, पर्यटन मन्त्रालयले सगरमाथा आरोहण गरे वापत पर्वतारोहीले तिर्नुपर्ने सलामी अर्थात् मात्रै १६ करोड ४४ लाख रुपैंया खुद आमदानी गरेको थियो । उता धेरै अघिदेखि सगरमाथाबाट हुने आम्दानी (रोयल्टी) को ६० प्रतिशतसम्म स्थानीयस्तरमै खर्च गर्ने गरी बजेट विनियोजन गर्नुपर्छ भनी आवाज उठ्दै आएको हो । त्यसैले अब संघीयता लागू भएसँगै यो माग पनि पूरा होला भन्ने आशा गर्न सकिन्छ ।
यसरी हेर्दा सगरमाथा नेपालीहरूका लागि गौरवको विषय मात्रै नभएर आम्दानीको एउटा राम्रो स्रोत पनि भएकोमा कसैको दुई मत छैन । तापनि सगरमाथासम्बन्धी विषय विज्ञहरू, सगरमाथाको भविष्यप्रति चिन्तित अभियन्ताहरू र खासगरी वातावरणविदहरूले भने अब सगरमाथालाई केही समय आराम दिनेतर्फ पनि सोच्ने हो कि भनी केही वर्ष अघिदेखि सुझाव दिँदै आएका छन् । खासगरी सगरमाथामाथि विजय प्राप्त गर्ने दुईमध्ये एक स्व. एडमण्ड हिलारीले यस विषयमा निक्कै जोड गरेका थिए ।
त्यसैले पैसालाई भन्दा पनि सगरमाथाको सुन्दरता र यसको दिगोपना अनि भविष्यलाई ध्यानमा राखेर निश्चित संख्यामा मात्रै आरोहीहरूलाई सगरमाथा चढ्न अनुमति दिनेतर्फ सोच्नु उपयुक्त हुन्छ । हाल कायम रहेको भन्दा अरू बढी रोयल्टी लिनेतर्फ सोचेर आरोहीको संख्या घटाउनु पनि अनुपयुक्त होइन । यो विकल्पतर्फ सोच्न सरकार र सम्बन्धित पक्षले ढिलो गर्नु हुँदैन । किनभने भोलि गएर सगरमाथाको अस्तित्व नै रहेन भने नेपालले गौरव गर्ने एउटा प्रमुख विषय नै रहँदैन ।



















