सुरेन्द्र सिटौला सेवा निवृत्त प्राध्यापक हुन् । उनले लामो समयसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा वनस्पति विज्ञानको प्राध्यापन गरे । उनी शिक्षासेवी पनि हुन् । उनको काठमाडौंको सुकेधारामा बागमती बोर्डिङ स्कुल सञ्चालनमा छ । यो शिक्षण संस्था देशका राम्रा विद्यालयमध्ये एक हो ।
डा.सुरेन्द्रले प्राध्यापकको हैसियतमा ३७ वर्ष र विद्यालय सञ्चालको हैसियतमा तीन दशक लामो समय व्यतीत गरेका छन् । डा. सुरेन्द्र प्राध्यापक र शिक्षासेवी मात्र नभएर एउटा राम्रो कवि पनि हुन् । हालै उनको ‘देश र परिवेश’ शीर्षकको कविता संग्रह प्रकाशित भएको छ । यसबाट उनले उक्त कुरा प्रमाणित गरेका हुन् ।
हुन त यो उनको पहिलो कृति हो तर यसमा संग्रहित कविताहरू हेर्दा त्यसो भन्न सकिने अवस्था देखिँदैन । उनका कविताहरू परिमार्जित र परिष्कृत देखिन्छन् । उनी उनको विद्यार्थी कालदेखि नै कविता लेख्थे भन्ने कुराको जानकारी पुस्तकमा विद्वान्हरूले लेखेको भूमिकामा पनि जनाइएको छ ।
उनकै विद्यालय बागमती बोर्डिङ स्कुल सुकेधाराले प्रकाशन गरेको यो पुस्तकको आवरणमा उनको फोटोसहितको हिमाल पहाड र वनस्पति तथा एउटा झोलुंगे पुलको दृश्य रहेको छ । यो मूर्तचित्रको निर्माताबारे पुस्तकमा खुलेको छैन ।
पुस्तकको भूमिका खण्डमा राष्ट्रकवि माधव घिमिरेको शुभकामना, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको ‘मन्तव्य’, उपकुलपति डा. विष्णुविभु घिमिरेको ‘हार्दिक शुभेच्छा’, नाटककार अशेष मल्लको ‘कविताको प्रवाह’ र कवि सिटौलाको ‘मेरो भन्नु’ रहेका छन् ।
पुस्तकको पछाडिको पातामा फोटोसहित कविको सामान्य परिचय र यिनै भूमिका लेखकहरूका उनीबारेका महŒवपूर्ण भनाइ राखिएका छन् । स्तरीय कागतमा छापिएको पुस्तक १२+१५६ पृष्ठको छ र यसको मूल्य दुई सय रुपैयाँ रहेको छ । यस पुस्तकमा समावेश उनका धेरैजसो कविताहरू अप्रकाशित हुन् ।
पुस्तकमा जम्मा ५२ वटा कविताहरू छन् । शीर्षक छोटा एक शब्ददेखि छ शब्दसम्मका छन् । यीमध्ये दशवटा कविताको शीर्षक एक शब्दका छन् भने दुई शब्दका शीर्षक सातवटा छन् । तीन शब्दको शीर्षक ८ वटा, चार शब्दका १९ वटा, पाँच शब्दका सातवटा र ६ शब्दको शीर्षक भएको एउटा कविता संग्रहमा समाविष्ट छ । यसरी संग्रहमा सालाखाला चार शब्दको शीर्षकका कविताहरूको बाहुल्य देखिन्छ ।
यसैगरी, यस संग्रहका ५२ वटा कविताहरूमध्ये २७ वटा कविता तीन पृष्ठको फैलावटमा छन् भने ११ वटा कविताले चार पृष्ठ ढाकेका छन् । यसैगरी, १३ वटा कविता दुई पृष्ठका छन् भने एउटा कविता पाँच पृष्ठको छ ।
उनका अधिकांश कविता राष्ट्र र राष्ट्रियतालाई विषय बनाएर लेखिएका छन् । राष्ट्रवादी भावधारा उनका प्रायःजसो कविताहरूमा पाइन्छ । यसका साथै राजनीति, नेता र नेतृत्व, मानवता, नारीनियति र उनीहरूप्रतिको सहानुभूति, संस्कार, संस्कृति र पर्व सन्दर्भहरूले पनि कवितामा स्थान पाएका छन् । सहिदहरूप्रति सम्मान प्रकट, अग्रजहरूप्रति आदर, स्वपहिचानप्रतिको चिन्ता, नेपालीको विदेश पलायनको दारुण स्थितिको मूक साक्षी हुनुपरेकोमा ग्लानि आदि यी कविताभित्र पाइन्छन् । संग्रहभित्रका कविताहरू सबै एकै खालका र एकै विषयका छैनन् । यिनमा विविधता पाइन्छ ।
भिखारीप्रतिको सहानुभूतिदेखि युद्ध, यात्रा, यौन, निर्वाचन, पशुपक्षीप्रति स्नेहसम्मका कुरा कवितामा छन् । त्यसैले, यो विविधता समेट्न सक्ने कवि पक्कै पनि सिकारु होइनन् र यस संग्रहभित्रका कविताहरू खारिएका छन् भन्न सकिन्छ ।
‘निक्कै बाठो रहेछ अमेरिका’ मा उनी यसो भन्छन् ः
वाह रे अमेरिका ¤
ऊ कलियुगको कृष्ण
मै हुँ भन्दोरहेछ
हो मैले साँच्चै भनेको
अमेरिका आफूले आफैँलाई
निकै बाठो ठान्दो रहेछ
स्वाधीनता, स्वतन्त्रता र प्रजातन्त्रको
बिल्ला भिराउँदै
दासताको भारी बोकाउँदो रहेछ अमेरिका
हो, खपी नसक्नु बाठो रहेछ अमेरिका
उनका यस संग्रहका कवितामा फरकफरक स्वाद पाइन्छ । उनी कतै पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्छन् । अहिले विभिन्न राजनीतिक प्रभावका मानिसहरूबाट उनको अपमान गर्ने काम भइरहेकोप्रति चिन्ता गर्छन् भने कतै नारी अस्मिताको पक्षबाट वकालत गर्नपुग्छन् । यस संग्रहभित्रका कविताहरूमध्ये धेरैजसोमा उनले राष्ट्रियताको पक्ष लिएर लेखेको पाइन्छ । राष्ट्रियतामाथि अनेक क्षेत्रबाट अनेक प्रकारले प्रहार भइरहेकोप्रति चिन्ता गरेका छन् उनले । उनी सचेत वर्गका कवि हुन् । त्यसैले, उनले यो खबरदारी गर्ने जिम्मेवारी लिएका हुन् ।
उनका अरू धेरै कविताहरू अहिले आमयुवा वर्ग रोजगारीका क्रममा विदेश पलायन भइरहेका विषयमा लेखिएका छन् । यो उनीहरूको रहर होइन, गरिबीले उनीहरूलाई बाध्य बनाएको हो । यो दारुण अवस्थाको अन्त्यको चाहना कविबाट भएको छ । नेपालीहरूको विदेश पलायनको विषयमा संग्रहभित्र धेरैवटा कविता छन् ।
यसका साथै हाम्रो सामाजिक आर्थिक अवस्था, पाश्चात्य समृद्धशाली मुलुकहरूको प्रगतिको चर्चा, नेपाली राजनीतिका विकृतिहरू, स्वधर्म र संस्कृतिको संरक्षणमा जोड, नारीहरूप्रति सहानुभूति, बालबालिकाप्रति स्नेह, पशुपन्छीप्रति स्नेह, देशको दुर्दशाको चित्रण, शान्तिको चाहना, हत्या हिंसाको विरोध, मान्छेमा मानवता हराउँदै गएकोप्रति चिन्ता, गरीबप्रति सहानुभूति, सहिदहरूप्रति सम्मानको कमी भएकोमा असन्तुष्टि, भाग्यवादमा विश्वास आदि कुराहरू प्रबल आवाजका साथ बुलन्द बनेर आएका छन् ।
‘नेताको धर्म’ शीर्षकको कवितामा कवि भन्छन् ः
आफैँलाई ढाँटेर
जीवनको सत्य खोज्दै भौँतारिँदा
असत्यमा ठेस लागेर
अर्ध सत्यमा बजारिँदा
परम सत्यको चिताग्निमा
जल्दै गरेको
मेरो इमानको खरानीले
देशको ऊर्जा अब बढाउनै पर्छ
अनि जनताको मनमा
मेराविरुद्ध जन्मने
शंका उपशंका
सबै मैले भगाउनै पर्छ
नेता भएपछि
मैले नेताको धर्म बचाउँनै पर्छ ।
कवि सिटौलाका कवितामा व्यंग्य पनि निकै प्रबल र सघन बनेर आएको छ । उनी संग्रहका विभिन्न कविताहरूमा मेरा नेता महान् छन्, देश नेता र किसान, मेरो देशले मान्छे चिन्न छोडेको छ, त्यो चरो र म, म नयाँ नेपाली भएको छु, म अमेरिकी हुँ, स्वतन्त्रता दिवस, भागबण्डा, मेरो सहर, दसैँ, नयाँ पार्टी प्रवेश गर्नुपर्छ आदि शीर्षकका कविताहरू व्यंग्यप्रधान छन् ।
यसैगरी, उनले मानवतावादी विचार संप्रेषण गर्ने प्रकारका केही कविताहरू पनि संग्रहमा समावेश गरेका छन् । मान्छेलाई उनी विविधीकरण गर्छन् । एउटै मान्छे अनेकथरी रूपमा प्रकट भएर अनेक थरि काम गर्छ अनि फरक फरक मान्छे अनेकौं काम र पेशामा विभाजित छन् । पेशा मात्रै होइन, ऊ विभिन्न धर्ममा पनि विभाजित भएको हुन्छ । असम्भव तृष्णाका पछि लाग्ने मान्छे, विभिन्न चाहना लिएका विभिन्न खालका मान्छे, उसका विभिन्न खालका राम्रा र नराम्रा प्रवृत्तिहरू पनि उनका कविताहरूमा केलाइएका छन् ।
समग्रमा प्राध्यापक, शिक्षासेवी व्यक्तित्वका रूपमा मात्र देखिएका सिटौला कवि व्यक्तित्वमा पनि देखापरेका छन् र त्यसमा पनि प्रखररूपमा प्रकट भएका छन् भनेर ठोकुवा गर्ने दरिला कविता लिएर आएका छन् । यसो भन्न सकिने प्रमाण यही संग्रहभित्रका कविताहरू हुन् । हामी बोलिरहनु पर्दैन, कविता स्वयं बोलेका छन् । उनका अरू पनि पुस्तक यसैगरी प्रकाशन हुँदै जाऊन् । हार्दिक शुभेच्छा ।



















