विष्ट धरौटीमा रिहा

कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको आरोप लागेका तत्कालीन उपरीक्षक डिल्लीराज विष्टलाई धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले आइतबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा अदालतले पूर्वप्रहरी उपरीक्षक विष्टलाई १० लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्टको गत शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई आइतबार धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

उनका अनुसार विष्टलाई यातनाविरुद्धको कसुरमा ६ लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा चार लाख ५० हजार रुपियाँ धरौटी सुनाइएको छ । धरौटी तिर्न नसके थुनामा राख्नू भन्ने आदेश भएको स्रेस्तेदार अवस्थीले बताए । उक्त मुद्दामा प्रहरी नायब उपरीक्षक अंगुर जिसी भने अझै अदालतमा उपस्थित भएका छैनन् ।

प्रतिवादी विष्टका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र अधिवक्ताद्वय कृष्णदेव जोशी र आनन्दप्रसाद जोशीले बहस गरेका थिए ।

यसअघि दुवै मुद्दामा आरोपित प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिएकी थिइन् ।

निर्मला हत्या प्रकरणमा प्रहरीको जिल्लादेखि केन्द्रसम्मको विशेष टोली अनुसन्धानमै छ । गत साउन १० गते साथीको घरका स्कुलको गृहकार्य गर्न गएकी निर्मलाको गत साउन ११ गते बिहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।