सरकार अधिनायकवादतर्फ : पौडेल

सर्लाही । मुख्य विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूमा निहित गरेर अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

कांग्रेस सर्लाहीले आइतबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै  पौडेलले सरकार दुई तिहाइको बलमा संवैधानिक अंगहरूलाई धम्क्याई रहेको टिप्पणी गरे । ‘अहिले प्रधानमन्त्री आफूमा सम्पूर्ण अधिकार केन्द्रित गरेर अधिनायकवादतर्फ उन्मुख छन्,’ उनले भने, ‘सबै संवैधानिक निकायलाई सरकारले दुई तिहाइको धम्की दिएर राखेको छ ।’ पैसाको बलमा राजनीति आफ्नो पक्षमा लिने काम बढिरहेको भन्दै पौडेलले यो कुरा रोक्न जरुरी रहेकोमा जोड दिए । उनले सरकार शान्ति सुरक्षा, सुशासन र विकासका काममा असफल भएको आरोप लगाए । ठूला नेताहरू एकै ठाउमा धेरै अनियमिततामा देखिएका भन्दै उनले ठूलाठूला काण्ड रोक्न नसके लोकतन्त्र नै खतरामा पर्ने आशंका व्यक्त गरे ।

‘हामीले देशलाई सुशासनको बाटोमा हिँडाउन जरुरी छ । यो सरकार सुरक्षा, सुशासन र विकास तीन काममै असफल भइसक्यो,’ पौडेलले भने, ‘शान्ति सुरक्षाको अवस्था दिनानुदिन खस्किँदै छ । भ्रष्टचार बढेको छ । विकास निर्माण शून्य छ ।’ पार्टीभित्रको एकताको सन्देश लिएर आफू मधेस आएको भन्दै पौडेलले बताए । उनले भने, ‘पार्टीमात्र होइन मधेस र पहाडको एकता बलियो बनाउन म मधेस आएको हुँ ।’ राजनीतिक जीवनमा नेपाल र नेपालीले भोगेका समस्याबाट आफू परिचित रहेको भन्दै उनले मधेसप्रति कांग्रेस अनुदार भयो भन्नेहरूलाई आमसभाबाटै जवाफ फर्काए ।

‘मलाई याद छ । म मन्त्री भएको बेलामा लाखौं मेट्रिक टन खाद्यान्न लिएर मधेस आएको थिएँ । झापादेखि कञ्चनपुरसम्म पुगेको छु । मधेसवासीको सुख–दुःखमा साथ दिन म मधेस आएको हुँ,’ उनले भने, ‘मेरो पालामा मैले मधेसमा थुप्रै योजना लिएर आएको थिएँ । मधेस आन्दोलन चलिरहेका बेलामा पनि वार्ता गर्न म मधेस आएको थिएँ ।’

कांग्रेस र मधेसी जनताबीच सम्बन्ध प्रगाढ रहेको जिकिर गर्दै नेता पौडेलले लोकतन्त्रको दियो मधेसबाट बलेको बताए । मधेस, लोकतन्त्र र नेपाली कांग्रेस एक अर्काका परिपूरक भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले पानी जहाजको रटान लगाए पनि मधेसी जनतालाई पानीको आवश्यकता रहेको नेता पौडेलले बताए । ‘प्रधानमन्त्री ओली पानी जहाज भन्दै हुनुहुन्छ तर हामी मधेसका जनतालाई पानी चाहिएको छ,’ उनले भने, ‘मधेसमा सिँचाइका लागि पानी आवश्यक छ । मधेसमा सिँचाइको व्यवस्था गरेर कृषि क्रान्ति गर्न सके मुलुक आत्मनिर्भर बन्छ ।’

पौडेलले मधेसका जनताले पाहाडमा रहेका ठूला योजनाको शेयर पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘मधेसको हित के गर्दा हुन्छ मधेसका नेताहरूले त्यतातिर बहस चलाउन जरुरी छ ।’ मधेसी नेताहरू आफूले मधेसविरोधी भनेका नेताहरूसँग मन्त्री पदका लागि सहकार्य गरिरहेको उनको टिप्पणी थियो । ‘मधेसी दलका नेताहरूले मधेसको नारा जनताका लागि होइन आफ्ना लागि लगाएका हुन् । जनताका लागि लड्ने पार्टी को हो भन्ने छुट्याउन जरुरी छ’, पौडेलले भने । पार्टीभित्र सुधारसहितको एकता आवश्यक रहेको जोड दिँदै उनले लोकतन्त्र बलियो भएमात्रै मधेस बलियो हुने बताए ।