काठमाडौं । प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएबाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी गराए । खेलाडीबाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुने छन् ।
सबैभन्दा बढी करातेमा १२ खेलाडी छन् । पुरुषतर्फ करातेमा युएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् । करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिरकारीले मकाउ तथा १७औं इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्ने छिन् ।
फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अष्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अष्ट्रेलियाबाट अमृत पौडेल र संरक्षकभूषण वज्राचार्य, गोल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा युएईका विक्की बुढा, सूर्य गिरी र हीरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा युएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापामगरले सहभागिता जानउने जानकारी दिइयो । पत्रकार सम्मेलनमा २४ खेलाडीले प्रतिस्पर्धा गर्ने सार्वजनिक गरिएको थियो ।
‘विविध कारणले विदेश पलायन भएका राष्ट्रिय खेलाडीको खेल क्षेत्रमा पुनरागमन हुने विश्वास छ,’ एनआरएनएका अध्यक्ष भट्टले भने, ‘विदेशमा रहेका खेलाडीले आधुनिक समयमा विकास गरिएका खेलका विधि, प्रविधि र व्यवस्थालाई नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाएका हुन्छन् । उनीहरूले आफ्नो अनुभव नेपाली खेलाडीसँग साट्ने विश्वास लिएका छौं ।’
गत फागुनमै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनआरएनएकाबीच आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडी पनि सहभागी गराउने सहमति भएको थियो । निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत करातेका स्वर्णधारी सुनिल लामा र पर्शुराम घिमिरे छन् ।
बृहत् राष्ट्रिय खेलकुदमा एनआरएनए टोली पहिलोपटक सहभागी हुन लागेको हो । आठौं राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय (आर्मी÷प्रहरी÷एपीएफ) गरी ११ टिमको सहभागिता रहनेछ ।



















