किन बाहिरिए मेरिबास्सै बल्छी र राजु मास्टर ?

काठमाडौं । दशक अघिदेखि नेपाली टेलिभिजनका दर्शकमाझ लोकप्रिय टेलिसिरियल ‘मेरिबास्सै’ बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्रर्बे) र राजु पौडेल (राजु मास्टर) ले हात झिकेका छन् । उत्पादक कम्पनी मिडिया हबसँग आफ्नो कुरा नमिल्दा बाहिरिएको बल्छीले जानकारी दिए ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै दुवैजनाले औपचारिकरूपमा मेरिबास्सै छाडेको जानकारी गराए । ‘मिडिया हबसँग केही कुरामा सहमति हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भएका छौँ । यस कदमबाट हाम्रा भगवानरूपी दर्शकमा पर्न गएको असरप्रति हामी क्षमाप्रार्थी छौँ,’ बल्छीले फेसबुकमा लेखेका छन् । सीताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबूढा) ले हात झिकेपछि बल्छी र राजु मास्टरले लेखन तथा निर्देशनको काम सम्हाल्दै आएका थिए । मिडिया हबका प्रबन्ध निर्देशक सोम धितालले पनि सहमतिमै बल्छी र राजु मास्टर बाहिरिएको बताए । बेलाबेलामा आर्थिक पाटोमा कुरा नमिल्दा बन्द हुँदै आएको मेरिबास्सै यसपटक भने आर्थिक समस्या नभई अन्य कुराले बाहिरिएको धितालको भनाइ छ ।

मेरिबास्सैलाई भन्दा बाहिर युट्युबमा आउने सिरियलमा बढी ध्यान दिएकाले धितालले मेरिबास्सै र युट्युबको सिरियलमा एक रोज्न निर्देशन दिएका थिए । सोहीअनुरूप उनीहरूले मेरिबास्सै छाडेका हुन् । ‘हामी अब छिट्टै नै बल्छी र राजुमास्टरकै रूपमा अर्को सिरियल लिएर आउनेछौँ,’ बल्छीले हिमालय टाइम्ससँग भने, ‘दर्शकले हामीलाई मेरिबास्सैकै भेषमा देख्न पाउनुहुनेछ ।’ बल्छीले आफूहरू स्क्रिप्ट राइटर भनेको खुल्ला आकाशमा उड्ने चराजस्तै भएको बताएका छन् । उनको स्टाटसको आशयअनुसार निर्माण कम्पनीले केही कुरामा बन्देज गरेको बुझिन्छ ।

‘एउटा स्क्रिप्ट राइटर भनेको खुला आकासमा उड्ने चराजस्तै हो ऊ जुन दिशामा नि आफ्नो पखेटा फैलाएर उड्नसक्छ, तर त्यो चरालाई एउटा पिँजडामा थुनेर राख्दा चरा पिँजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ । तर दर्शकको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनाँै,’ बल्छीले लेखेका छन् । मेरिबास्सैको भाग ५९५ बाट बल्छी र राजु मास्टरलाई देख्न पाइनेछैन ।