कठमाडौं । प्रतिबन्धित नेकपाभित्र आन्तरिक विवाद पनि सुरु भएको छ । विप्लवको नजिकका विश्वासपत्र मानिने खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई नेकपाले प्रवक्ताबाट हटाएको छ । ४९ दिन प्रहरी हिरासतमा रहेका ‘प्रकाण्ड’ पछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । उनका गतिविधिहरू शंकास्पद देखिएको भन्दै नेकपाले प्रवक्ताबाट उनलाई निलम्बन गरेको स्रोतले बतायो । रिहा हुने क्रममा उनका गतिविधिमाथि पार्टीले शंका गरेको जनाइएको छ । पछिल्लो समय विप्लव, हेमन्तप्रकाश वलीलगायतका नेताले विभिन्न घटनाको जिम्मेवारी लिँदै विज्ञप्ति निकाल्दै आएका थिए । ‘प्रकाण्ड’लाई पार्टी स्थायी समिति बैठकले कुनै विज्ञप्ति जारी नगर्न, पार्टीको धारणा सञ्चारमाध्यममा सार्वजनिक नगर्न पनि निर्देशन दिएको छ ।
नेता पक्राउ
काठमाडौं । शुक्रबार राति काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका उच्च हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहितका नेताहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत ललितपुरले आइतबार राज्यविरुद्धको अपराधसहित चारवटा मुद्दामा अुसन्धान गर्न वलीसहितका नेताहरूलाई थुनामा राख्न अनुमति दिएको हो । प्रतिबन्धित नेकपाका महासचिव विप्लवपछि तेस्रो वरियतामा रहेका वलीसहित ९ जनाविरुद्ध हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । काभ्रेको खानीखोलाबाट वलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सञ्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका वली नेकपाको मध्यकमाण्ड इन्चार्ज हुन् । पक्राउ पर्ने अन्य आठजना पनि मध्यकमाण्डकै सदस्य हुन् । प्रहरीको विशेष व्यूरो, महानगरीय प्रहरी अपराध महाशाखाको टोली र काभ्रे प्रहरीले गरेको संयुक्त अप्रेसनमा उनीहरू पक्राउ परेका हुन् ।
वली विप्लपको नजिकको विश्वासपात्र मानिन्छन् । प्रहरी स्रोतका अनुसार वलीको योजनामा गत फागुन १० गते ललितपुरको नख्खुमा एनसेल मुख्यालय अगाडि मा बम विष्फोट गराइएको थियो । वली स्वयंले नख्खुमा भएको बम विष्फोटको जिम्मेवारी लिएका थिए । विष्फोटमा परी एकजना सर्वसाधारणको ज्यानसमेत गएको थियो । अन्य दुईजना घाइते भएका थिए । सरकारले विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगाएसँगै अहिले उक्त समूहका कार्यकर्तालाई प्रहरीले खोजी गरिरहेको छ । वलीलाई पक्राउ गर्न प्रहरी दोस्रो प्रयासमा सफल भएको थियो ।


















