‘राजतन्त्रको फेरी नलाउनू’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य विपक्षी दल नेपाली कांग्रेसले राजतन्त्रको पक्षमा फेरी लगाउन थालेको टिप्पणी गरेका छन् । संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस फालिएको राजतन्त्रको पक्षमा जोगीले जस्तै धुनी फेरी लगाउन थालेको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘कोही अहिले पनि फालिएको राजतन्त्रका पक्षमा हिँडेका छन् । त्यसको पक्षमा जोगीले झैँ धुनी फेरी लगाउँदै हिँडेका छन् ।’ आफ्नो निवासमा ओाजित होली कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले जनताले मागे गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा जनमत संग्रह गराउनुपर्ने बताएका थिए ।

‘यो रगत बगाएर ल्याएको गणतन्त्र हो । भिक्षामा पाएको होइन,’ प्रधानमन्त्री ओलीले चेतावनीको शैलीमा भने, ‘गणतन्त्र गाई कि त्रिशूल गरेर ल्याइएको होइन । सरकार प्रतिगमन सुन्न चाहँदैन ।’ उनले मुलुकको विकास र समृद्धि रोक्न कांग्रेसले राजतन्त्रको वकालत गर्न थालेको आरोप लगाए । आफूले प्रश्न गर्न नचाहेको र मुलुकको विकास गरेर उत्तर दिने उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीले दुई ठूला कम्युनिस्ट पार्टीको एकता गर्दै बहुमत ल्याएर उत्तर दिइसकेकाले अबको ध्येय विकास र समृद्धिको भएको जिकिर गरे । संसद् र सरकारको एक वर्षे कामको फेहरिस्त सुनाउँदै ओलीले संविधान कार्यान्वयन र संविधानअनुरूप व्यावहारिक संरचना तयार पार्न सरकार सफल भएको दाबी गरे ।

प्रधानमन्त्रीले गत फागुन २१ गतेदेखि ससद् सञ्चालन भएयता तीनवटा अधिवेशन सफलतापूर्वक सकिएको पनि बताए । संसद्को एक वर्ष कानुन निर्माणका हिसाबले महŒवपूर्ण वर्ष भएको उनको भनाइ थियो । संसदले यसबीचमा एक सय २६ वटा कानुन बनाएको र २६ वटा विधेयक विचाराधीन रहेको उनले बताए । उनका अनुसार कानुन मन्त्रालयले २४ वटामा सैद्धान्तिक सहमति लिइसकेको छ र २० वटा मस्यौदा बन्दैछन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार कानुनी राज्य स्थापना गर्न सफल रहेको दाबी गरे । उनले सरकारले भ्रष्टाचार र सुन तस्करी नियन्त्रणमा अभूतपूर्व सफलता पाएको जिकिर गरे । सरकार भ्रष्टाचारविरुद्ध लागिरहेको र अख्तियारका आयुक्त आफैँ राजिनामा दिएर भाग्ने अवस्था आएको बताए ।

प्रधानमन्त्रीले भ्रष्टाचार प्रकरणमा अदालत पनि सजग बन्दै गएको र जनताको विश्वास जित्ने काम भएको बताए । ‘अदालतले न्यायाधीशमाथि नै कारबाही गरेर जनताको विश्वास जित्ने काम गरेको छ,’ उनले भने ‘भ्रष्टाचारको छानबीन हुन्छ । ढाकछोप हुँदैन । भ्रष्टाचार नियन्त्रण र उन्मुलन सरकारको प्राथमिकताको विषय हो । सरकार सुशासन र विकास चाहन्छ । ढिलासुस्ती सहँदैन ।’

प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई लक्षित गर्दै भूमिगत बसेर राजनीतिक गतिविधि गर्न नपाइने बताए । सरकारले वार्ताका लागि आग्रह गरे पनि विप्लव समूहले अटेर गरेको उनको भनाइ थियो । उनले विप्लवलाई निषेध गर्दा केहीलाई ‘हनहनी’ ज्वरो आएको भन्दै व्यंग्य गरे ।र ‘लोकतन्त्रमा बम पड्काउन, मान्छे मार्न पाइन्छ ?,’ विप्लवमाथि लगाइएको प्रतिबन्धको विरोध गर्नेलाई उनले प्रश्न गरे ।

प्रधानमन्त्रीले सरकारले विप्लव समूहलाई प्रशासनिक ढंगले मात्र समाधान गर्न नखोजेको पनि बताए । पौरााणिक पात्र श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको स्मरण गराउँदै प्रधानमत्रनीले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए । विप्लव समूहका गतिविधि नियन्त्रण गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले भने, ‘राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’ विप्लव समूहलाई वार्तामा आउन बाटो खुला रहेको पनि प्रधानमन्त्रीले बताए । उनले भने, ‘हतियार बुझाउन समय दिएका छौं, लुरुलुरु बुझाउन आए हुन्छ, बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’

प्रधानमन्त्रीले चन्दाको नाममा लुटपाट गर्न, बम पड्काउन र विध्वंसको कल्पना नगर्न चेतावनी दिए । ‘लोकतान्त्रिक अभ्यास आचरणअनुसार सबै चल्नुपर्छ, त्यसमा सरकार दृढ छ,’ उनले भने, ‘अब देशमा अशान्तिको शृंखला जारी रहन्छ कि भन्ने कल्पना नगरे हुन्छ ।’

प्रधानमन्त्रीले सिके राउतसँगको ११ बुँदे सम्झौताले मुलुकमा विखण्डनवादी आन्दोलन समाप्त भएको जिकिर गरे । उनले उक्त सम्झौतालाई नेपाली राजनीतिको अभूतपूर्व सफलताको संज्ञा दिए । ‘पृथकतावादी, विखण्डनवादी विचार बोक्ने अन्त्य भए,’ प्रधानमन्त्रीले भने, ‘अब विखण्डनवाद, विखण्डनवादी विचार अस्तित्वमा छैन ।’ उनले सम्झौताको दोस्रो बुँदामा उल्लिखित ‘जनअभिमत’ जनमतसंग्र्रहका रूपमा अथ्र्याएको प्रसंग जोड्दै सीके राउतसँग जनमत संग्रहबारे सम्झौता नभएको प्रष्ट पारे ।

प्रधानमन्त्रीले जनमत संग्रह भनेको भयावह नभई लोकतान्त्रिक मूल्यमान्यताको कुरा भएको पनि बताए । उनले लोकतन्त्रमा जनमत संग्रह ग्राहृय हुने भए पनि भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनताको विषयमा जनमत संग्रह किमार्थ सम्भव नभएको बताए । प्रधानमन्त्रीले सम्झौताप्रति खुसी व्यक्त गर्नुपर्नेमा राष्ट्रघातका रूपमा चित्रण गरेको भन्दै दुःख व्यक्त गरे । प्रधानमन्त्रीले भने, ‘सम्झौता नपढेकाले फेरि पनि पढे हुन्छ । आग्रहको आँखाले नहेरौँ । खुसीयाली मनाऔँ । अस्ति नभ्याइएको भए आज दीपावली गरे हुन्छ ।’

गत वर्षको विद्यार्थी भर्ना प्रभावकारी रहेको भन्दै प्रधानन्त्रीले यस वर्ष पनि सरकारले विद्यालय भर्ना अभियान चलाउने बताए । विद्यालय बाहिर रहेका विद्यार्थीको संख्या शून्यमा झार्दै दुई वर्षभित्र निरक्षता उन्मूलन गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।