विराटनगर । पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । विराटनगरस्थित सहिद रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा जित निकाल्दै नेपाल र भारतले शुक्रबार हुने फाइनलमा भेट पक्का गरेका हुन् ।
बुधबार भएको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पाखा लगाउँदै नेपालसँगको भेट पक्का गरेको थियो ।
नेपालले योसँगै चौथोपटक साफ महिला च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो भारत भने पाँच पटक नै फाइनल पुगेको छ । भारतले सम्पन्न चारवटै संस्करणको उपाधि जितेको छ । नेपाल सुरुवाती तीन संस्करणको उपविजेता हो ।
नेपाल समूह चरणमा भुटानलाई ३–० गोल र बंगलादेशलाई पनि ३–० गोल अन्तरले पराजित गर्दै समूह ए को विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरेको हो । त्यस्तै भारत माल्दिभ्सलाई ६–० गोल र श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गर्दै समूह बी को विजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकामाथि ४–० गोलको फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो । नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो ।
नेपालले खेलको ४२औं मिनेटमा पुनम जर्घामगरको गोलबाट अग्रता लियो । सावित्रा भण्डारीको हेड पासलाई पुनमले गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाइन । त्यसपछि खेलको ७३औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाइन् ।
नेपालका लागि यो प्रतियोगितामा अनिताको दोस्रो गोल हो । श्रीलंकन गोलकिपर अयोमी एस विजेरथ्नले क्लियर गरेको बल अनिताले सदुपयोग गर्दै डि बक्स एरियाबाट प्रहार गरेकी थिइन् । त्यस्तै ८२औं मिनेटमा अनिताले दिएको क्रस पासलाई सावित्रा भण्डारीले हेडबाट गोल गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाएकी थिइन् । सावित्राको यो प्रतियोगितामा नेपालका लागि तेस्रो गोल हो ।
त्यसैगरी ८६औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोलको अग्रता दिलाइन् । ६५औं मिनेटमा कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी रेखाले अनिताको पासलाई कुनै गल्ती नगरी सदुपयोग गर्दै गोलमा परिणत गरेकी थिइन् । रेखाको यो गोलसँगै नेपालको विजय सुनिश्चित बनेको थियो । नेपालका लागि रेखाको यो पहिलो गोल हो ।
सुरुवातदेखि नै आक्रामक खेलेको नेपालले खेलको १०आंै मिनेटमै गोल गर्ने अवसर सिर्जना गरेको थियो । अनिता बस्नेतले कर्नर प्रहार गरेको बल कप्तान निरु थापाले हेड गर्दै गोल गर्ने प्रयास गरेकी थिइन् । तर उक्त बल पोष्टभन्दा केही माथिबाट बाहिरिएको थियो । १६ औं मिनेटमा सावित्रा भण्डारीको सशक्त प्रहार श्रीलंकाली गोलकिपर अयोमी विजेरथ्नले बचाइन् । ३५औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा अझ सुधारिएको प्रदर्शन गरेको नेपालका केही प्रयासलाई श्रीलंकाली गोलरक्षक विजेरथ्नले असफल तुल्याइन् । ५३औं मिनेटमा सावित्रा भण्डारीको प्रहार पोष्टको नजिकैबाट बाहिरियो । ६०औं मिनेटमा अनिता बस्नेतले लामो राइट फ्यांकबाट प्रहार गरेको बल श्रीलंकाली गोलकिपरले मुस्किलले बचाइन् ।
खेलपछि प्रतिक्रिया दिँदै मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीले शतर्क रहेर क्रसिङ खेल खेलेका कारण जित सुनिश्चित भएको बताए । उनले भने, ‘श्रीलंकाले डिफेन्सिभ खेल खेलिरहेको कारण आफ्ना खेलाडीले शतर्क रहँदै क्रसिङ खेल खेल्न लगाउँदा जित निकाल्न सफल भए ।’ उनले यही उत्कृष्ट खेललाई फाइनलमा समेत कायम राख्दै मैदानमा उत्रिने बताए ।
श्रीलंकाका प्रशिक्षक रोहन थिलक अल्पोन्सुले अन्तर्राष्ट्रिय खेलको अनुभवको कमीका कारण आफ्ना खेलाडीले सोचेअनुरूप खेल्न नसक्दा पराजय व्यहोर्नु परेको बताए । नेपाल बलियो टिम रहेको भन्दै उनले भने, ‘सन् २०१६ पछि आफ्ना खेलाडीले अन्तराष्ट्रिय खेल खेल्न नपाउँदा अनुभवको कमी रहेको र त्यसरी खेल्नुपर्दा खेलाडीहरू मानसिक रूपमा दबाव महसुस गर्ने हुँदा पराजय व्यहोर्नु प¥यो ।’ त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई पनि ४–० गोल अन्तरले पराजित गर्यो ।
सहिद रंगशालामा भएको खेलमा पहिलो हाफमै तीन गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप एक गोल गरेको हो । १८औं मिनेटमा डालिमा छिब्बरले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । बंगलादेशकी गोलकिपर रूपना चक्मा अगाडि बढेको मौकामा डालिमाले गरेको प्रहार गोल हुन पुगेको हो । त्यसको पाँच मिनेटपछि २३औं मिनेटमा इन्दुमती काथिरिसानले अर्को गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् ।
खेलको ३७औं मिनेटमा भारतकी इन्दुमतीले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् । ग्रेस डनमेईले दिएको पासलाई कुनै गल्ती नगरी इन्दुमतीले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । त्यस्तै खेलको अतिरिक्त समयमा भारतकी मनिषाले गोल गर्दै ४–० गोल अन्तरको जित दिलाइन् । प्रतिस्पर्धात्मक रहेको खेलमा भारतले केही राम्रा अवसर खेर फालेको थियो भने बंगलादेशले पनि गोल गर्ने राम्रा अवसर सदुपयोग गर्न नसक्दा गोल गर्नबाट वञ्चित हुनुको साथै प्रतियोगिताबाटै बाहिरिन पुग्यो ।



















