काठमाडौं । बुधबार काठमाडौंलगायत पहाडी जिल्लामा होली पर्व मनाइएको छ । रंगको पर्व होलीमा सेलिब्रेटीले पनि विभिन्न कार्यक्रमका साथ होली मनाए । विशेषगरी होली मनाउनेमा चलचित्रका कलाकार बढी देखिए । चलचित्रको प्रचारप्रसारमा थप टेवा पुग्ने हुँदा उनीहरूले मंगलबारदेखि नै होली मनाउन सुरु गरेका थिए ।
यही चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यात्रा’ टिमले मंगलबार होलीको प्रि–सेलिब्रेशन ग¥यो । साथै सोही टिमले बुधबार बिहान नयाँ बानेश्वर चोकमा चलचित्रको प्रचारप्रसार हुनेगरी दर्शकसँगै होली मनायो । नायक सलिन मान बनियाँसँगै नवनायिका मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द्व निर्देशक हिमाल केसीलगायतले होली मनाएका हुन् ।
यस्तै अर्को प्रतिक्षित चलचित्र ‘दालभात तरकारी’ टिमले पनि नयाँ बानेश्वरमा विशेष कार्यक्रमबीच होली मनायो । एकअर्कालाई रङ र अबिर लगाइदिएर चलचित्र टिमले चलचित्रबारे जानकारी गरायो । निर्माता किरण केसीलगायत नायक पुष्पल खड्का, नायिका आँचल शर्मा, वर्षा राउतलगायतको टिमले होली मनाएको हो । कार्यक्रममा जितु नेपालले कमेडीको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिएका थिए भने कलाकार दीपकराज गिरी र नायिका वर्षा राउतले चलचित्रको गीतमा नृत्य गरेका थिए । नायिका वर्षा श्रीमान् संजोग कोइरालासँग कार्यक्रममा पुगेकी थिइन् निर्माता केसीले स्टेजबाटै दर्शकलाई चलचित्र हेर्न हलसम्म आइदिनुहोला भन्दै आग्रह गरेका थिए । चलचित्र आउँदो वर्षको वैशाख १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
त्यस्तै चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘लभ स्टेशन’ टिमले पोखराका दर्शकसँग होली मनायो । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा भएको होली हंगामा कार्यक्रममा चलचित्रका मुख्य नायक प्रदीप खड्का, नायिका जसिता गुरुङ, प्रस्तुतकर्ता गोविन्द शाहीलगायतको टिमले चलचित्रबारे जानकारी गराएका थिए । नायिका जसिताले आफू जन्मिएको ठाउँ पोखरा भएकाले पनि पोखरासँग विशेष माया रहेको बताइन् भने नायक प्रदीपले आफ्नो जुनसुकै चलचित्र आउँदा दर्शकलाई भेट्न पोखरा आउने गरेको बताए । यस्तै प्रस्तुतकर्ता गोविन्दले चलचित्रप्रति युवा दर्शकको क्रेजले खुसी लागेको बताए । सोही कार्यक्रममा चलचित्र ‘साँइली’ का कलकारको उपस्थिति थियो । मुख्य कलाकार गौरव पहारीलगायतको टिमले चलचित्रको विषयमा जानकारी गराएका थिए ।
यस्तै चैत ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कागजपत्र’ को टिमले पनि मंगलबार नै होलीको प्रिसेलिब्रेशन ग¥यो । अपिल विष्टद्वारा निर्देशित चलचित्रका मुख्य कलाकार नायक नाजिर हुसेन, नायिका शिल्पा मास्के, कलाकार भोला सापकोटा र निर्देशक अपिललगायतको टिमले पत्रकारसँग होली मनाएको थियो ।
त्यस्तै हाँस्य टेलिसिरियल ‘भद्रगोल’ को टिमले काठमाडौंको गोंगबुमा एक कार्यक्रमका साथ होली मनायो । वर्षेनी होली मनाउँदै आएको यस टिमले यस वर्ष चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ कार्यक्रम आयोजना ग¥यो । होली खेल्न आएका दर्शकले स्वइच्छाले रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेका थिए । भद्रगोलका कलाकार अर्जुन घिमिरे, कुमार कट्टेल, सागर लम्साल, हरिश निरौला, दीपक आचार्य, मदुसूधन पाठक, अशोक धिताललगायतको टिमले दर्शकलाई मनोरञ्जन दिएका थिए ।
एसइईले रोक्यो करिश्माको होली
वर्षेनी आफ्नै निवास गोदावरीमा कलाकारलाई निमन्त्रणा गर्दै होली मनाउँदै आएकी नायिका करिश्मा मानन्धरले यस वर्ष होली मनाइनन् । यही चैत १० गतेबाट सुरु हुने एसइई परीक्षाको तयारीमा रहेकाले करिश्माले होली सेलिब्रेट नगरेको बताइन् ।
‘यो वर्ष मैले विगत जसरी होली मनाउँदिनँ । एसइईको तयारी भइरहेकाले कलाकारसाँग घरमा बसेर होली मनाउन सम्भव भए,’ करिश्माले भनिन् । उनले अर्को वर्ष कलाकारसँग होली मनाउने उनले बताइन् । करिश्माले मंगलबार आफ्नो फेसबुकमा लेखेकी थिइन, ‘फागु पूर्णिमाको शुभकामना । अब अर्को वर्ष रमाइलो गर्नुपर्छ । यो वर्ष हजुरलाई मिस गरेँ ।’ करिश्मा एक महिनादेखि आफ्ना सम्पूर्ण दैनिक काम छोडेर परीक्षाको तयारी गरिरहेकी छिन् ।



















