झापा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चक्कु देखाएर कम्युनिस्ट पार्टीको नाममा चन्दा नउठाउन चेतावनी दिएका छन् । ४६ औँ सुखानी स्मृति दिवसका अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीको नाममा केहीले चक्कु देखाएर, लुकेर चन्दा असुल्ने र धम्की दिएर जनतालाई आतंकित पार्ने काम गरेको भन्दै त्यसो गर्नेलाई सरकारले नछाड्ने चेतावनी पनि दिए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपातर्फ संकेत गर्दै उनले चन्दा उठाउने धन्दा गर्ने समूहलाई कम्युनिस्ट भन्न नसकिने बताए । ‘जनतालाई चक्कु देखाएर कम्युनिस्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस्,’ उनले भने, ‘म यो शहीद भूमिबाट फेरि एकपटक आहृवान गर्छु, कोही वास्तविक कम्युनिस्ट हुनुहुन्छ भने नेकपामा आएर समाहित हुनुहोस् ।’
प्रधानमन्त्रीले जनताको सरकार बनेकोले सरकारले जनताको सुरक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रष्ट पारे । उनले कम्युनिष्ट नाममा आतंक मच्चाउने जोसुकैलाई पक्राउ गर्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओली निकै आक्रामक सुनिएका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले देशैभरि विकासको माहोल ल्याएको दाबी गरे । ‘केही तŒवहरूले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास निर्माण, सुशासनमा जिम्मेवारीपूर्वक लागिपरेको छ,’ उनले भने ।
दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको चर्चा गर्दै उनले शहीदको सपना पूरा गर्नकै लागि पार्टी एकता गरिएको बताए । २०२९ सालमा जनताका हकअधिकारको माग गर्ने युवालाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको स्मरण गर्दै उनले त्यतिबेला आफूले भागेर ज्यान जोगाएको जिकिर गरे । ‘म भागेर बचेँ नत्र त्यतिबेला म पनि मारिन सक्थेँ,’ उनले भने, ‘हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।’ झापा आन्दोलनले उठाएका र पूरा हुन बाँकी रहेका मागहरू त्यसपछिका कम्युनिस्ट आन्दोलनले पूरा गरेको उनको भनाइ थियो ।
सोही कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि दुई अलग अलग धारका ठूला कम्युनिस्ट पार्टीहरू एकै ठाउँमा आउने अवस्था मुलुकको समृद्धिका लागि भएको दाबी गरे । उनले पनि विद्रोहका नाममा आतंक सैहृय नहुने बताए । उनले झापा विद्रोह र १० वर्षे जनयुद्धलाई जोडेर मुलुक अगाडि बढाउने सपना पार्टी एकता भएपछि साकार भएको उनको भनाइ थियो ।
दुई पार्टीबीच एकता हुन नदिनक अनेक षड्यन्त्र भए पनि एकतालाई सफल तुल्याइएको उनले बताए । केही दिनभित्रै तल्लो तहसम्मको एकताले मूर्तरूप लिने प्रस्ट पार्दै उनले त्यसबाट जनतामा सकारात्मक सन्देश जाने पनि प्रस्ट पारे । कुनै पद र प्रतिष्ठाका लागि नभई मुलुकको हितका लागि समयको माग अनुसार पार्टी एकता भएको दाहालको टिप्पणी थियो ।
२०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, वीरेनसिंह राजवंशी, नेत्र घिमिरे र रामनाथ दाहाललाई सुखानी जंगलमा हत्या गरिएको थियो । शहीदहरूको सम्झनामा वामपन्थीहरूले फागुन २१ लाई सुखानी स्मृति दिवसको रूपमा ४६ वर्षदेखि मनाउँदै आएका छन् । कार्यक्रममा ओली र दाहालले शहीदहरूको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।



















