क्वालालम्पुर (मलेसिया) := मलेसियाको जोहोरस्थित ‘एन म्याजेस्टिक कुजिन’ कम्पनीमा कार्यरत आठ जना नेपाली श्रमिक साढे तीन महिनादेखि तलब तथा सुविधा नपाउँदा दयनीय अवस्थामा बस्न बाध्य भएका छन्। कम्पनीबाट तलब नपाएको गुनासो गरेका उनीहरू जंगल क्षेत्रमा राखिएको कन्टेनरभित्र भोकभोकै बस्नुपरेको बताउँछन्।
लामो समयसम्म पारिश्रमिक नपाउँदा दैनिक गुजारा चलाउनसमेत कठिन भएको श्रमिकहरूको गुनासो छ। काम गरेबापत पाउनुपर्ने तलब तथा अन्य सुविधाबाट वञ्चित भएपछि उनीहरू आर्थिक संकटमा परेका छन्। रोजगारीका लागि मलेसिया आएका श्रमिकहरू नै आधारभूत आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्थामा पुगेपछि उनीहरूको समस्याप्रति जनचासो बढेको छ।
यस विषयमा मलेसियास्थित नेपाली राजदूतावाससँग जवाफ माग्दा राजदूतावासबाट खासै चित्तबुझ्दो जवाफ् आएनन्। दूतावास स्रोतले भने ध्यानाकर्षण भएको बताएका छन्। दूतावासले पीडित श्रमिकहरूको समस्या समाधानका लागि पहल सुरु गरिएको जानकारी प्राप्त भएका छ्न ।
साढे तीन महिनादेखि तलब नपाएको गुनासो गरिरहेका आठ नेपाली श्रमिकको समस्याबारे सम्बन्धित कम्पनीले के जवाफ दिएको छ र उनीहरूले बक्यौता पारिश्रमिक कहिले पाउँछन् भन्ने विषय भने अझै स्पष्ट हुन बाँकी नै छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पारिश्रमिक, सुरक्षित आवास र आधारभूत मानवअधिकार सुनिश्चित गर्नु सम्बन्धित रोजगारदाता कम्पनीको जिम्मेवारी हो। पीडित श्रमिकको बक्यौता तलब उपलब्ध गराउने तथा उनीहरूको सुरक्षित बसोबासको व्यवस्था मिलाउने विषयमा सम्बन्धित निकायबाट प्रभावकारी पहल आवश्यक देखिएको छ।




















