काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बासकोटाले आफूलाई गायक बनाएको गीत ‘चट्ट रुमाल’को रि एरेञ्ज गरेकोमा खुसी लागेको बताए । चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गीत आउँदो चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ मा राखिएको हो ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा शम्भुजितले गीत पुनः नयाँ पुस्तामा पुगेको भन्दै खुसी व्यक्त गरे । ‘यो गीतले नै मलाई गायक बनायो, अहिले पनि विभिन्न शोमा पुग्दा यहीँ गीत नगाउँदासम्म सुख पाउँन्दिन । निकै डिमाण्ड छ । यसलाई रि एरेन्ज गर्दै नयाँ पुस्ताका स्टारमार्फत् नयाँ पुस्तामा पु¥याउँदा खुसी लागेको छ,’ उनले भने ।
यस्तै चलचित्रमा मुख्य भूमिका रहेका र भिडियोमा नृत्य गरेका नायक सलिनमान बनियाले आफू जुन गीत सुन्दै हुर्कियो त्यहीँ गीतमा नृत्य गर्न पाउँदा खुसी लागेको बताए । ‘हामीले कोसिस गरेका छाँै, गीतलाई न्याय गर्न कति सफल भयौ यसका बारेमा दर्शकले कमेन्ट दिनु नै हुनेछ,’ सलिनले भने । यस्तै अर्का नायक सलोन बस्नेतले पनि गीतलाई आफूहरूले सक्ने न्याय गरेको बताए । ‘यस गीतमा हामीले अवसरसँगै चुनौती पनि पाएका हौँ । किन कि यो गीत पाउनु हाम्रो लागि सानो कुरा होइन र यो गीतलाई यति धेरैले मन पराउनु भएको छ कि हामी देखिँदा सहज छैन । गीतमा हाम्रो टिमले मिहिनेतमा कमि ल्याएका छैनौं,’ सलोनले भने ।
सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बाँस्कोटाको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि–एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । राजन इशानले रि–एरेन्ज गरेका हुन् । भिडियोमा प्रवीनसिंहले कोरियोग्राफ गरेका छन् । गीतमा राइजिङ स्टार सलिनमान बनियाँ , सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत , जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायत फिचर्ड छन् ।



















