मलेसियामा दोलखाका सरस थामीको उपचारका क्रममा निधन।

[ निरबहादुर थामी ] 

क्वालालम्पुर (मलेसिया) : वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका दोलखाको बिगु गाउँपालिका–६, आलम्पु निवासी सरस थामीको उपचारका क्रममा निधन भएको छ। क्वालालम्पुरस्थित सरकारी अस्पतालमा सोमबार बिहान करिब १०ः३० बजे उहाँको निधन भएको हो।

प्राप्त प्रारम्भिक जानकारीअनुसार, थामीलाई आइतबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पताल पुर्‍याउँदा उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ। नेपाल थामी समाज मलेसियाले उहाँलाई अस्पताल पुर्‍याउन आवश्यक पहल गरेको थियो।

अस्पताल भर्ना गराउने क्रममा उहाँका काका रत्न थामी पनि सँगै रहनुभएको थियो। उक्त पहलका क्रममा नेपाल थामी समाज मलेसियाका उपाध्यक्ष सुजन थाङ्मी, पीएनसीसी मलेसियाका संयोजक पूर्ण सुब्बा लिम्बू तथा नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाका अध्यक्ष पदमराज लिम्बुको समेत उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।

प्राप्त विवरणअनुसार, बिरामी भएपछि थामी आफू कार्यरत स्थानबाट बाहिरिनुभएको र सडकमा असहाय अवस्थामा भेटिनुभएको बताइएको छ। उहाँ विगत एक वर्षदेखि मलेसियामा वैधानिक श्रम प्रक्रियाबाहिर रहेर अवैधानिक हैसियतमा रहि काम गर्दै आउनुभएको जानकारी प्राप्त भएको छ।

थामीको निधनको यकिन कारण भने खुल्न सकेको छैन। अस्पतालको आधिकारिक विवरण तथा शव व्यवस्थापनसम्बन्धी प्रक्रिया पनि सार्वजनिक हुन बाँकी छ। मलेसियामा उहाँका नजिकका आफन्त सीमित रहेको र काका रत्न थामी सम्पर्कमा रहनुभएको बताइएको छ। सम्बन्धित निकायबाट आधिकारिक विवरण प्राप्त भएपछि घटनाबारे थप जानकारी सार्वजनिक गरिनेछ।