तामाङ घेदुङ मलेसियाको प्रथम पूर्ण बैठकद्वारा संरक्षक तथा सल्लाहाकार मनोनयन।

क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको ऐतिहासिक पाँचौँ अधिवेशन तथा २१औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएपश्चात् समीक्षा तथा प्रथम पूर्ण बैठक आइतबार क्वालालम्पुरमा सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाका वर्तमान अध्यक्ष सबिन कुमार लोप्चन तामाङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य एवं मलेसिया इन्चार्ज पासाङ लामाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो। बैठकमा संस्थाका नव निर्वाचित तथा बहालवाला पदाधिकारी एवं सदस्यज्यूहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

बैठकले पाँचौँ अधिवेशन र २१औँ वार्षिकोत्सव कार्यक्रमको समग्र समीक्षा गर्दै भावी कार्यदिशाबारे विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

संरक्षक, प्रमुख सल्लाहाकार तथा सल्लाहाकारहरूको मनोनयन

अधिवेशनपश्चात् बसेको यस प्रथम पूर्ण बैठकले संस्थालाई अझ सुदृढ, व्यवस्थित र गतिशील बनाउनका लागि तपसिल बमोजिमका व्यक्तित्वहरूलाई संरक्षक, प्रमुख सल्लाहाकार तथा सल्लाहाकार पदमा सर्वसम्मत मनोनयन गर्ने निर्णय गरेको छ:

  • संरक्षक:  पासाङ लामा तामाङ
  • प्रमुख सल्लाहाकार:  राजु योञ्जन तामाङ
  • सल्लाहाकारहरू:
  •  चक्र घिसिङ तामाङ
  •  बिक्रम वाइबा तामाङ
  •  छेवाङ लामा तामाङ
  •  भीमबहादुर तामाङ
  •  सुनिता घिसिङ तामाङ
  •  तेञ्जु योञ्जन तामाङ
  •  विशाल नेगी तामाङ

उक्त मनोनयनसम्बन्धी निर्णयको औपचारिक जानकारी तथा आवश्यक अभिलेखका लागि नेपाल तामाङ घेदुङ सङ्घीय परिषदको कार्यालय, चुच्चेपाटी, काठमाडौँका अध्यक्ष रामकृष्ण ब्लोनज्यूलाई महासचिव सञ्जीव स्याङ्बो तामाङद्वारा हस्ताक्षरित पत्रमार्फत प्रेषित गरिएको छ।

बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारीहरूले नवमनोनित संरक्षक तथा सल्लाहाकारहरूलाई बधाई दिँदै आगामी दिनमा मलेसियामा रहेका तामाङ समुदायको हक, हित र संस्कृति संरक्षणमा एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।