नेपाल संस्कृत विश्वविद्यालय, सात महिनापछि सभा

काठमाडौं । विश्वविद्यालय प्रशासनको धेरै पटकको प्रयासपछि नेपाल संस्कृत विश्वविद्यालयको ७१ औँ सभा बैठक आइतबार भएको छ । सभा बैठक सहकुलपति पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारस्थित प्रधानमन्त्रीको सचिवालयमा भएको हो ।

वार्षिक तालिका अनुसार सभा गत भदौमै हुनुपर्ने थियो । विश्वविद्यालयले सभा बैठकका लागि आग्रह गरे पनि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताको कारण देखाएर सभा हुन सकेको थिएन । गत कात्तिकमा विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लागेका उपकुलपति कुलप्रसाद कोइरालालाई उडान हुनै लाग्दा विमानस्थलबाटै फर्काइएपछि सभा अन्योलमा परेको थियो ।

विश्व विद्यालयले सभा आयोजनाका लागि सहकुलपति शिक्षामन्त्रीलाई पटक पटक औपचारिक पत्र लेखेको भए पनि उनले व्यस्तता देखाउँदै टार्दै आएका थिए । सभा हुन नसक्दा विश्वविद्यालयका शिक्षक तथा कार्मचारीको तलब निकासा हुन सकेको छैन । उनीहरूले गत मंसिरयताको तलब पाएका छैनन् । सभाले वार्षिक बजेट स्वीकृत गर्ने, शैक्षिक कार्यतालिका निर्धारण गर्ने लगायत काम गर्छ ।

आइतबार भएको सभा बैठकले बजेट, शैक्षिक कार्यक्रम र वार्षिक प्रतिवेदन स्वीकृत गरेको जनाइएको छ । बाँकी कामका लागि चाँडै अर्को सभा बैठक गर्ने निर्णय भएको एक सहभागीले जानकारी दिए ।

सामान्यतया सभा बैठक कुलपति रहेका प्रधानमन्त्रीको अध्यक्षतामा हुने व्यवस्था छ । आइतबारको सभा बैठक भने सहकुलपति रहेका शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा भयो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो कार्यव्यस्तताको कारण जनाएर शिक्षामन्त्री पोखरेललाई सभाको अध्यक्षता गर्ने अख्तियारी दिएका थिए । उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काएपछि उपकुलपति र प्रधानमन्त्रीबीच सम्बन्ध चिसिएको छ ।

आफूलाई फर्काएपछि उपकुलपति कोइरालाले पत्रकार सम्मेलन गरेर सरकारको कदमको विरोध गरेका थिए । शिक्षा मन्त्रालयले भने बिदा स्वीकृत नगराएकाले फर्काउनुपरेको जिकिर गरेको थियो । उपकुलपति कोइरालाले आफूले बिदाको निवेदन दर्ता गराएको जिकिर गरेका थिए । उपकुलपतिलाई फर्काएको विषयमा सरकारको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले उपकुलपतिले अनियमितता गरेको विषयमा उजुरी परेको भन्दै त्यसको छानबिन हुने चेतावनी दिएका थिए । उपकुलपति कोइरालाको पदावधि आगामी साउनमा सकिँदैछ ।

यो घटनापछि प्रधानमन्त्री ओली सभाको अध्यक्षता गर्न इच्छुक नहुँदा लामो समयदेखि सभा हुन सकेको थिएन । प्रधानमन्त्रीले सहकुलपति शिक्षामन्त्रीलाई अख्तियारी दिएपछि आइतबार बैठक हुन सकेको हो ।