आज महाशिवरात्रि

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी सोमबार देशभर मनाइँदैछ । यस दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई भगवान् शिवको श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तŒवले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तŒव)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गर्दछ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । पाशुपत क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।