पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिंगो देश नै शोकाकुल बनेको बेला उनको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ । बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याहृनतिर मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको खबरले प्रत्येक कस्केलीलाई अत्यन्त चिन्तित बनाएको थियो । दुर्घटना र उनको निधनको पुष्टि नहुँदासम्म पोखरेलीले यो घटना सत्य सावित नहोस् भन्दै कामना गरिरहेका थिए । कस्केलीको कामनाको अन्ततः केही लागेन, मन्त्री अधिकारीको निधन भएको पुष्टि भयो । कास्कीको भरतपोखरी गैरागाउँमा जन्मेका अधिकारीप्रति यहाँका स्थानीयको धेरै आशा एवं विश्वास थियो । विकासप्रेमी अधिकारीकै पहलमा कास्कीमा विकास निर्माणका लागि पहल पनि उत्साहजनकरूपमा नै अघि बढेको थियो । मिलनसार र भद्र छविका रूपमा राजनीतिक व्यक्तिव बनाउन सफल भएकै कारण उनको कास्कीबाट लगातार तीनपटक निर्वाचन जितेका थिए । अधिकारीको निधनले यतिखेर कस्केली आफूले असल अभिभावक गुमाएको महसुस गर्दै चिन्तित बनेका छन् । कास्कीको साविक भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी र पिता इन्द्रप्रसादका जेठो छोराका रूपमा विसं २०२६ वैशाख २२ गते आइतबार अधिकारीको जन्म भएको थियो । गाउँकै श्री ब्रहृमज्योति प्रावि, शान्ति पँधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि पाण्डेथुमबाट प्रवेशिका उत्तीर्ण गरेका उनी विद्यालय अवस्थादेखि नै अनेरास्ववियु, रेडक्रस जस्ता संगठन एवं संघसंस्थामा क्रियाशील थिए । प्रवेशिका उत्तीर्ण गरेसँगै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएका अधिकारीले केही समयपश्चात् विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्न थालेका थिए ।
विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने उनी विसं २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, विसं २०४५ मा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, विसं २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, विसं २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य बने । विसं २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा अधिकारी निर्वाचित भएका थिए । विसं २०५३ मा उनी स्ववियु काउन्सिल नेपालको संयोजक भएका थिए ।
विसं २०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । पञ्चायतकालीन समयमा नै अत्यन्त क्रियाशील अधिकारी विसं ०४६ को जनआन्दोलनताका नै पटकपटक छ महिना जेल र हिरासतमा परेका थिए । पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्दानै अधिकारीले क्याम्पस भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माणका साथै शैक्षिक वातावरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि आदिमा धेरै काम गरेका थिए । शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्रविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमासुरक्षा अभियान आदिमा उनले नेतृत्व गरे । लक्ष्मणपुर बाँधको विरोध तथा तत्कालीन शाहज्यादा पारस शाहको ज्यादतीविरुद्धको आन्दोलनका साथै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलन जस्ता धेरैमा उनले अगुवाइ गरेका थिए ।
विसं २०४५ मा पार्टीको संगठित सदस्यता प्राप्त गरेका अधिकारी विसं २०३९ मा नै पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित बनेका थिए । विसं २०४० मा इलाका पार्टी कमिटीमा, विसं २०४६ र ०४७ मा पोखरा नगर कमिटी र विसं २०४८ मा पार्टी जिल्ला कमिटीमा रहेका अधिकारी त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहेका थिए । विसं २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव भएका अधिकारी ०६३ मा पुनः सचिवमा निर्वाचित भएका थिए । विसं ०६२÷६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्धको आन्दोलनमा पटकपटक गरी पाँच महिना जेल बसेका अधिकारी विसं २०६४ र विसं २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए ।
विसं २०७४ को निर्वाचनमा संघीय संसद्का लागि कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी पछिल्लो समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भएका थिए । यसअघि उनले विकास समितिको सभापतिका रूपमा जिम्मेवारी सम्हालेका थिए । अधिकारीले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्यान्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्युबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वेलगायतका देशको भ्रमण पनि गरेका थिए । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा, बेगनास, रूपालगायत ताल तलैयाको संरक्षण, सरसफाइ, पोखरा फराकिलो बनाउने, पुल निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायतका शैक्षिक संस्थाको निर्माण एवं विकास आदिमा उनले उल्लेख्य भूमिका खेल्र्दै आएका थिए । उनका संविधानसभा, लोकतन्त्र र पुनसंरचना, समृद्ध नेपाल पुस्तक प्रकाशित भएका छन् । कास्कीको उदाउँदो नक्षेत्रका रूपमा रहेका अधिकारीको ४९ वर्षको अल्पायुमै निधन भएको खवर कस्केलीका लागि निकै पीडादायी बनेको छ । अधिकारीका बुबा आमा, श्रीमती र दुई छोरा छन् ।
गण्डकी प्रदेश प्रमुखद्वारा दुःख व्यक्त
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रदेश प्रमुख कुँवरले शोक वक्तव्य जारी गर्दै ताप्लेजुङमा आज दिउँसो भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री अधिकारीसहित सबैको आत्माको चिरशान्तिको कामना गरेका छन् । शोक वक्तव्यमा शोकाकुल परिवारजन, आफन्त, इष्टमित्रप्रति समवेदना व्यक्त गर्दै ईश्वरले धैर्यधारण गर्नसक्ने शक्ति प्रदान गरून् भन्ने उनले कामना गरेका छन् । प्रमुख कुँवरले घटनामा तदारुकताका साथ उद्धारमा खटिने सुरक्षाकर्मी, स्थानीय बासिन्दा सबैलाई धन्यवादसमेत दिएका छन् ।


















