भारत–पाकिस्तान द्वन्द्व चर्कियो, संयमता अपनाउन अन्तर्राष्ट्रिय समुदायको आग्रह

नयाँदिल्ली  । भारत र पाकिस्तानबीच बुधबार थप तनाव त्यतिबेला बढ्यो जब पाकिस्तानी लडाकु विमानले कश्मीरमा लाइन अफ कन्ट्रोल (एलओसी) पार गरेर भारततर्फ चारवटा बम खसाले ।

पाकिस्तानी हवाई सेनाले भारतीय भूमिमा प्रवेश गरेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसलाई मंगलबार भारतीय सेनाले गरेको कारबाहीको जवाफमात्र भएको बताएका छन् । पाकिस्तानी सञ्चारमाध्यमसँग कुरा गर्दै प्रधानमन्त्री इमरानले यदि युद्ध भएमा त्यो कसैका लागि पनि राम्रो नहुने बताएका छन् । उनले भारत र पाकिस्तानबीच युद्ध सुरु भए त्यो आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियन्त्रणमा समेत नहुने भनेका छन् । उनले एकपटक फेरि समस्याको समधान वार्ताबाटै हुने भन्दै भारतसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

मंगलबार भारतीय लडाकु विमानले पाकिस्तानमा बम खसालेको जवाफमा बुधबार पाकिस्तानी सेनाले भारतलाई त्यसको जवाफ दिएको हो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जर्नेल आसिफ गफूरले भारतीय विमानले मंगलबार गरेको कारबाहीको जवाफमात्र दिएको बताएका छन् । उनले पाकिस्तानी सेनाको ताकत देखाउनमात्र भारतीय भूमिमा बम खसालिएको बताएका छन् । उनले मानिसहरू नभएको स्थानमा बम खसालेर भारतलाई पाकिस्तानी सेनाको ताकत देखाएको बताएका छन् ।

यहीबीचमा पाकिस्तानाको वायु सेनाले भारतका दुई ओटा लडाकु विमान खसालेको पाकिस्तानी सैनिकले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाई क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गफुरले एक भारतीय लाडकु विमान पाकिस्तानभित्र नै खसेको बताएका छन् । पाकिस्तान प्रशासित कश्मीरको प्रशासनले अर्को भारतीय लडाकु विमान भारत नियन्त्रित कश्मीरमा खसेको जनाइएको छ ।

यद्यपी भारतीय सञ्चारमाध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् । भारतीय विदेश मन्त्रालयले आफ्नो एक पाइलट बेपत्ता भएको भने स्वीकार गरेको छ । साथै एक पाकिस्तानी लडाकु विमान भारतीय सेनाले खसालिदिएको दाबी गरेको छ । तर भारतको यस्तो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यसैबीच भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेरमात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्रालयबाट मन्त्री पोम्पेओले जारी गरेको विज्ञप्तिमा सो आग्रह गरिएको हो । हाल भियतनामको हनोईमा रहेका पोम्पेओले भारतीय विदेशमन्त्री शुष्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेसीसँग कुराकानी गरेका छन् । जारी तनावलाई बढावा नदिई संयम अपनाउन संयुक्तराज्य अमेरिकाले सधैं प्रयास जारी राख्ने पोम्पेओले बताएका छन् ।

यस्तै भारतले पाकिस्तान अधिनस्थ कश्मिरी इलाकामा मंगलबार हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले दुवै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । ईयू प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘हामी दुवै मुलुकसँग सम्पर्कमा रहेका छौं । हामीले के विश्वास गरेका छौं भने दुवै मुलुकले ‘अत्यधिक संयमता अपनाउन’ र स्थितिलाई थप तनावतिर जान नदिन जरूरी छ ।’