पर्यटनमन्त्री अधिकारीसहित सबैको निधन

ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्री अधिकारीसहित सवार छ र क्याप्टेन गरी सात जनाको शव फेला परेको छ । मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा छ । मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको शव चिनिएको छ ।

बाँकी शव चिन्न सकिने अवस्थामा छैनन् ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । उडेको ५ मिनेटमै हेलिकोप्टर सम्पर्क विहिन भएको थियो । स्थानीयका अनुसार दुर्घटना भएको बखत ठूलो आवाज आएको थियो ।

घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ ।

हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।