महाकाली सन्धिअनुसार नेपालले पानी पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धि कार्यान्वयनमा भारत इमानदार हुनुपर्ने प्रस्ट पार्दै नेपालले सन्धिमा उल्लेख भएकै प्रावधानअनुसार पानी पाउनुपर्ने बताएका छन् । उनले भारतीय पक्षसँगको छलफलमा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न पनि सरोकारवालालाई निर्देशन दिएका छन् ।

बुधबार काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरूको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री ओलीले देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न निर्देशन दिएका हुन् । जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन छलफल आयोजना गरेको थियो ।

प्रधानमन्त्री ओलीले २३ वर्षअघि भएको महाकाली सन्धिअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने प्रतिसेकेन्ड १० घनमिटर (३५० क्युसेक) पानी हालसम्म नपाएको भन्दै यस विषयलाई गम्भीरताका साथ उठाउन निर्देशन दिएका हुन् । ‘हाम्रो पहिलो प्राथमिकता सन्धिको कार्यान्वयन हो । सन्धिअनुसार नेपालले १० क्युमेक्स पानी पाउनु पर्दछ,’ उनले भने, ‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनु हुँदैन ।’

२०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिँचाइका लागि भारतले प्रतिसेकेन्ड १० घनमिटर पानी उपलब्ध गराउने सम्झौता कार्यान्वयनका लागि भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । बैठकमा ऊर्जा मन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई लगायतको सहभागिता थियो ।