हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार भियतनामको राजधानी हनोई पुगेका छन् । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।
विश्व समुदायले यस पटकको वार्तामा उत्तरकोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । राष्ट्रपति ट्रम्प, उत्तर कोरियाली नेता किमबीचको शिखर वार्ता यही फेब्रुवरी २७ र २८ तारिखमा हुँदैछ । यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महŒवपूर्ण सहमति भएको थियो । उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकले अनुमान गरेका छन् ।
शिखर बैठकमा भाग लिन उत्तरकोरियाबाट करिब चार हजार किलोमिटर रेलयात्रा गरी नेता किम भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङ पुगेका थिए । उनलाई दोङदाङबाट उच्च सुरक्षाबीच मोटरमा राखेर करिब १७० किलोमिटर सडक मार्गबाट भियतनामको राजधानी हनोई ल्याइएको थियो । रेल र सडक मार्ग तय गर्न करिब अढाई दिन लागेको थियो ।
नेता उन हनोईमा स्थानीयबासीले भब्य स्वागत गरेका थिए । दोङदाङमा एक स्थानीय अधिकारी होआङ थी थुएले किमको अनुहार हेर्नका लागि उज्यालो नहुँदै हनोईको सडकमा सिमसिम वर्षाद्को प्रवाह नगरी पर्खेर बसेको बताए ।
सन् १९६४ यता उत्तर कोरियाली नेताले भियतनामको भ्रमण गरेको यो पहिलोपटक हो । भियतनाम र उत्तर कोरिया दुवैमा एकदलीय कम्युनिस्ट शासन छ । ‘किम सवार रेल आउँदा हामीलाई नजिक जान दिइएको थिएन, र टाढैबाट हेर्न भनिएको थियो,’ उनले एएफपीलाई भने, ‘हामीले नेता किमलाई टाढैबाट हेर्न पायौं । मलाई अति खुशी लाग्यो, यो क्षणको वर्णन गर्न कठिन छ ।’
माओ–शैलीको कालो सुट र आफ्ना अंगरक्षकको टोलीले घेरिएका किम त्यहाँ प्रतिक्षारत मर्सिडिज बेन्ज कारमा चढेका थिए । त्यसपछि मोटरको ताँती हनोईतर्फ लागेको थियो । त्यहाँ सडकका दुवैै किनारामा उभिएको ठूलो जनसमूहले किमलाई स्वागत गर्नुका साथै सडकमा सशस्त्र सैनिकले कडा सुरक्षा दिएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने विगतझैं परम्परागत ‘एयर फोर्स वान’ विमानबाट यात्रा गर्नेछन् । उनी मंगलबार साँझसम्म हनोई आइपुग्ने कार्यक्रम छ । हनोईतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै दोस्रो शिखर वार्ता निकै फलदायी हुने अपेक्षा गरिएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागे कोरियाले तीव्र आर्थिक प्रगति गर्ने बताएका छन् । उनले भनेका छन्, ‘पूर्णआणविक निःशस्त्रीकरण भएसँगै उत्तरकोरिया आर्थिक केन्द्र हुनेछ । यसमा प्रगति नभए उही पुरानै अवस्थामा पुग्नेछ । अध्यक्ष किमले बुद्धिमत्तापूर्ण निर्णय गर्नुहुनेछ ।’
शिखर वार्ताका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन तर राष्ट्रपतिसँगै हनोई यात्रामा रहेकी हृवाइट हाउसकी प्रवक्ता सराह स्यान्डर्सले दुवैै नेताले सँगै खाना खाने कार्यक्रम रहेको बताइन् ।
सिंगापुर वार्तापछि आणविक निःशस्त्रीकरणका बारेमा कूटनीतिक प्रगति लगभग अवरुद्ध भएको छ । संयुक्तराज्य अमेरिकाले पटकपटक उत्तरकोरियासमक्ष आफ्ना आणविक कार्यक्रम भरपर्दो र अन्तर्राष्ट्रिय विशेषज्ञको उपस्थितिमा बन्द गर्न आग्रह गरिरहेको छ । प्योंयाङले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई व्यापकरूपमा बुझ्न आग्रह गर्दै आएको छ । उत्तरकोरियाले आफूमाथि लागेका प्रतिबन्ध फुकुवा गर्न र उत्तर कोरियामाथि हुनसक्ने सुरक्षा खतरा नहुने विश्वासिलो आधार प्रस्तुत गर्न आग्रह गरिरहेको छ ।

















