काठमाडौं । चीनले अघि सारेको महत्वपूर्ण परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (विआरआई) सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । विआरआई अन्तर्राष्ट्रिय यातायात संघ (व्रिटा) र नेपाल अटोमोबाइल एसोसिएसन (नासा) द्वारा संयुक्तरूपमा आयोजित सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चीनको विआरआई परियोजना नेपाल नेपाललगायत दक्षिण एसियाकै लागि लाभदायी अवसर भएको बताए । आफू प्रधानमन्त्री हुँदा उक्त परियोजनामा नेपालले हस्ताक्षर गरेकाले आफूलाई गर्व लागेको उनले बताए । विआरआई परियोजना चीनका राष्ट्रपति सी चीन फिङको महŒवाकांक्षी लक्ष्य भएको र नेपालका लागि पनि ठूलो अवसर भएको बताए ।
नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली नारालाई साकार बनाउन परियोजना थप सहयोगी हुनसक्ने उनको भनाइ थियो । नेपालमा शान्ति स्थापना भइसकेको र राजनीतिकरूपमा स्थिरता कायम भएकाले अहिले विकासतर्फ केन्द्रित रहेको भन्दै उनले अवको लक्ष्य विकास नै भएको बताए । नेपालस्थित चिनियाँ राजदूत हउ यान्छीले विकासोन्मुख देशका लागि विआरआई परियोजना महŒवपूर्ण हुने र नेपाल र चीनको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताइन् । साथै उनले नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले चीनले नेपालमा गरेको लगानीबारे प्रश्न उठाएकोमा असन्तुष्टिसमेत व्यक्त गरिन् ।
नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका छिमेकी मुलुक भएको उल्लेख गर्दै उनले कोषौं टाढा भएको मुलुकले दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टीका टिप्पणी गर्नु उचित नहुने बताइन् । चीनले आफ्नो स्वार्थभन्दा नेपाल सरकारले प्रस्तुत गरेका विकास आयोजनामा मात्र काम गर्ने गरेको स्पष्ट पार्दै नेपालको विकासका लागि चीनले जस्तै लगानी गर्न एच फेल्टरलाई आग्रहसमेत गरिन् ।
उनले सडक, पूर्वाधार र विमानस्थललगायत संरचना निर्माणमा चीनले नेपाललाई सघाउँदै आएको र भर्खरैमात्रै कलंकी–कोटेश्वर खण्डको हस्तान्तरण गरेको उनले स्मरण गराइन् । अमेरिकी सहायक रक्षामन्त्री फेल्टरले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै नेपालमा चिनियाँ लगानीबारे प्रश्न उठाएका थिए ।
सम्मेलनको सहआयोजक युथ कम्युनिटी फर नेपाली कन्ट्र्याक्टरका अध्यक्ष आनन्द सुवेदीले सम्मेलनमा सडक, यातायात र पूर्वाधार विकासका विषयमा विस्तृत छलफल हुने बताए । बुधबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, चीन, भारत, संयुक्त अधिराज्य, दक्षिण अफ्रिका, श्रीलंका मलेसियालगायत १२ देशका १४० जना सहभागिताको रहेको छ ।
सम्मेलनमा छलफलका लागि नेपाल र विआरआई अभियान, पूर्वाधार र विकास, पर्यटन र व्यापार, सुरक्षित यातायातलगायत विषय तय भएका छन् । चीन, नेपाल तथा विआरआई परियोजनासँग सम्बद्ध विभिन्न क्षेत्रका विज्ञले नेपाल र चीनको आर्थिक, भूप्राविधिक, सार्वजनिक, निजी, साझेदारी, यातायात विकास तथा नेपाली ठेकेदारका चुनौती र अवसरका विषयमा चर्चा गरेका थिए ।


















