नेपालद्वारा चीन पराजित

काठमाडौं । नेपालले चीनलार्ई पराजित गर्दै आइसिसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटमा चौथोे जित हासिल गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा भएको पाँचौं खेलमा नेपालले चीनलाई पाँच रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । ७८ रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभरमा ६ विकेट गुमाएर ७२ रनमात्र बनायो । चीनका लागि झान मेईले सर्वाधिक ३३ रन बनाइन् भने सियोन झौले १८ रन जोडिन् । बलिङतर्फ नेपाललकी सीता रानामगरले तीन तथा कृष्ण कँुवरले १ विकेट लिइन् ।

त्यसअघि नेपालका लागि सीता रानामगर र काजल श्रेष्ठले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए । काजलले सर्वाधिक १८ रन बनाइन् भने सीताले ११ रन बनाइन् । त्यस्तै, बिन्दु रावलले १०, इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन तथा सरिता मगरले ६ रन जोडिन् । बलिङतर्फ चीनकी वाङ मेङ र हान लिलीले दुई÷दुई विकेट लिइन् । जीतसँगै नेपाल ८ अंकसहित तेस्रो स्थानमा छ । नेपालले बुधबार कुवेतसँग खेल्नेछ ।